२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • झापाका १५ स्थानीय सरकारः १२ पालिकाको...

झापाका १५ स्थानीय सरकारः १२ पालिकाको आफ्नै अस्पताल, के दिन्छन् सेवा ?

झापाका १५ स्थानीय सरकारः १२ पालिकाको आफ्नै अस्पताल, के दिन्छन् सेवा ?

बुधवार, भाद्र ५ २०८१०७:३७
बुधवार, भाद्र ५ २०८१०७:३७
  • images

    काठमाडौँ । झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसुति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् । 

    प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी अस्पताल समेत रहेको जिल्लामा १५ शय्याभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवा समेत उपलब्ध छ ।

    मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले जानकारी दिए । 

    दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।

    जिल्लाको पुरानो सदरमुकाम भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल छ भने विर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल छन् । 

    मेचीनगरमा अस्पताल उद्घाटन

    मेचीनगर वडा नं. १० धुलाबारीमा नगर आधारभूत अस्पताल सञ्चालनमा छ । अस्पतालमा चार जना एमबीबीएस चिकित्सकले सेवा दिन थालेका छन् ।

    प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । 

    ‘चार जना एमबीबीएस डाक्टरले उपचार सेवा प्रदान गर्ने गरी नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइएको हो’, अधिकारीले भने, ‘२४सै घण्टा आपतकालीनसहित प्रसुति, अल्ट्रासाउन्ड, इसीजी र ल्याबलगायतका सेवा उपलब्ध गराएका छौँ ।’

    नगर अस्पतालले आफ्नै फार्मेसी समेत सुरु गरेको मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए । नगर अस्पताल सञ्चालन भएको भवनमा यसअघि एक जना एमबीबीएस चिकित्सकको मात्र दरबन्दी  थियो  ।

    मेचीनगरको पन्ध्र वटै वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन भइरहेको छ । मेचीनगर–१० मा सरकारी, सामुदायिक र निजी क्षेत्रबाट गरी तीन वटा अस्पताल सञ्चालनमा छन् ।

    मेची आम्दा अस्पताल सामुदायिक अवधारणाबाट सञ्चालित अस्पताल हो भने निजी क्षेत्रबाट १५ शय्याको शिखर अस्पताल समेत सञ्चालित छ । रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend