पाल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचनसम्म रहिरहने दाबी गरेका छन्।
पाल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले देशको विकास, स्थिरता र समृद्धितर्फ सरकारले काम गर्न सक्षम भएको बताए। “प्रतिनिधि सभामा प्रतिनिधित्वको वर्तमान समीकरण नै स्थिरताको प्रत्याभूति दिन्छ। कसैले चाहेर, रोई कराई गरेर वा नानाथरी बोलेर यो सरकार ढल्ने कुनै अवस्था छैन,” उनले भने।
अर्थमन्त्री पौडेलले देश विकासको बाधक मानिने तीन प्रमुख अस्थिरताहरू प्रतिगामी तत्व राजावादीहरू, एजेन्डाविहीन राजनीतिज्ञ, र प्रमुख प्रतिपक्षीको सत्ता संघर्ष समाप्त भएको जानकारी दिए। उनले जनतालाई भ्रमित पार्ने र व्यवस्थाको विरोध गर्नेहरूको भविष्य नभएको पनि दाबी गरे।
उपप्रधानमन्त्री पौडेल रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन पाल्पा पुगेका हुन्।

