काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएका छन्। बैठक सोमबार बिहान १० बजेपछि देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्न लागेको हो। बैठकमा कांग्रेसका दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उपस्थित हुन आह्वान गरिएको छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ पिरियडसम्बन्धी विवादका कारण गत साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ। संसद्को नियमअनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गरिसक्नुपर्ने बाध्यता रहेकाले आज जसरी भए पनि उम्मेदवारको टुंगो लगाउनुपर्ने अवस्था आएको हो।
सभामुख देवराज घिमिरे नेपाली कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम सिफारिस हुने प्रतीक्षामा छन्। यसका लागि कांग्रेसभित्र छलफल तीव्र पारिएको छ। देउवा निवासमा बस्ने बैठकले सम्भावित उम्मेदवार चयन गरी संसद सचिवालयमा औपचारिक रूपमा नाम पठाउने तयारी रहेको बुझिएको छ।
यस बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनबारे पनि छलफल हुने बताइएको छ। कांग्रेसले यो निर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएकोले उम्मेदवार चयनदेखि चुनावी रणनीति बनाउने विषयमा समेत आजको बैठकमा प्राथमिकताका साथ छलफल हुने सम्भावना रहेको एक नेताले बताएका छन्।

