२०८३, आश्विन २० गते

images

७६ कम्पनीले आईपीओका लागि बोर्डमा मागे अनुमति,कुल मूल्य साढे ५४ अर्ब

७६ कम्पनीले आईपीओका लागि बोर्डमा मागे अनुमति,कुल मूल्य साढे ५४ अर्ब

जलविद्युत् क्षेत्रको सबैभन्दा बढी आईपीओ पाइपलाइनमा

मंगलवार, भाद्र १० २०८२०६:४२
मंगलवार, भाद्र १० २०८२०६:४२
  • images

    काठमाडौँ । मुलुकको पूँजी बजारमा नयाँ लगानीकर्ता आकर्षित गर्न ७६ कम्पनीले साढे ५४ अर्ब रुपैयाँबराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेका छन्। ती कम्पनीहरूले कुल ३७ करोड ९७ लाख ५२ हजार ८८३ कित्ता शेयर जारी गर्न चाहेका हुन्।

    नेपाल धितोपत्र बोर्डका अनुसार यी सबै प्रस्ताव हाल पाइपलाइनमा रहेका छन्। स्वीकृति माग्ने कम्पनीहरूमध्ये सबैभन्दा धेरै ३७ जलविद्युत् कम्पनी छन्, जसले १७ करोड ८५ लाख कित्ता शेयरमार्फत १८ अर्ब २६ करोड रुपैयाँभन्दा बढी उठाउने तयारी गरेका छन्। याम्बलिङ, सोलु, टक्सार पिखुवा लगायतका हाइड्रोपावर कम्पनीहरू स्वीकृतिको पर्खाइमा छन्।

    उत्पादन तथा प्रशोधन समूहका १७ कम्पनीले १३ करोड २२ लाख कित्तासहित २७ अर्ब ५६ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने तयारी गरेका छन्। यसबाहेक लगानी समूहबाट ४ कम्पनीले करिब ३ अर्ब १४ करोड रुपैयाँबराबरको १ करोड ८६ लाख कित्ता शेयर प्रस्ताव गरेका छन्।

    होटल तथा पर्यटन समूहबाट चार कम्पनी : होटल फरेस्ट इन, अकामा होटल, वर्णवास म्युजियम होटल र माउन्टेन ग्लोरी लिमिटेडले गरी १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको आईपीओ ल्याउन लागेका छन्।

    विकास बैंकतर्फ सालपा विकास बैंक मात्र एक्लो आवेदनकर्ता हो, जसले १७ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा प्रस्ताव पेस गरेको छ। फाइनान्स र माइक्रोफाइनान्स समूहबाट भने कुनै पनि कम्पनीको प्रस्ताव हाल पाइपलाइनमा छैन। जीवन बीमा तथा निर्जीवन बीमा समूहबाट पनि कुनै नयाँ आईपीओ प्रस्ताव आएको छैन।

    माइक्रो इन्स्योरेन्स समूहका तीन कम्पनी : प्रोटेक्टिभ, स्टार र लिबर्टी माइक्रो इन्स्योरेन्सले ५७ लाख कित्ता शेयरमार्फत ६७ करोड रुपैयाँभन्दा बढी जुटाउने तयारी गरेका छन्।

    अन्य समूहमा डिश मिडिया नेटवर्क, ह्याम्स हस्पिटल, कैलाश हेलिकप्टर, आईएमई लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लगायतका १० कम्पनीले २ करोड ७६ लाख कित्ता शेयरमार्फत ३ अर्ब ४३ करोड रुपैयाँबराबरको आईपीओ स्वीकृतिका लागि प्रस्ताव गरेका छन्।

    बोर्डका अनुसार धेरै कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर निष्काशनको प्रस्ताव गरेका छन्। अब बोर्डको स्वीकृति पाएपछि ती कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न सक्नेछन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend