काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाले आक्रमण गरी भेनेजुएलाका ११ जना लागुऔषध तस्कर मारिएको दाबी गरेका छन्। मंगलबार बिहान लागूऔषध बोकेको चार इन्जिनको स्पिडबोटमाथि भएको कारबाहीबारे ट्रम्पले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै 'मेरो आदेशमा अमेरिकी सैन्य बलले ट्रेन डे अरागुवाका नार्को–आतङ्ककारीहरूमाथि आक्रमण गरेको' बताए।
ट्रम्पले सार्वजनिक गरेको भिडियोमा पानीमा तीव्र गतिमा दौडिरहेको स्पिडबोटलाई विस्फोटमार्फत उडाइएको देखिन्छ। विशेष अपरेशनमा प्रयोग हुने विमानमार्फत आक्रमण गरिएको अमेरिकन सञ्चारमाध्यमहरूले जनाएका छन्।
यससँगै ट्रम्प प्रशासनले सात युद्धपोत र आणविक पनडुब्बीसहित ४,५०० भन्दा बढी सैनिक क्यारेबियन क्षेत्रमा पठाइसकेको छ। यसलाई लिएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्ने अमेरिकी रणनीति हुन सक्ने अड्कल गरिँदै आएको छ। तर, अमेरिकी अधिकारीहरूले भने यो कारबाही लागुऔषध तस्करी नियन्त्रणका लागि भएको स्पष्ट पारेका छन्।
ठूलो संख्यामा सैनिक र युद्धपोत परिचालन गर्नु लागुऔषध नियन्त्रणभन्दा बढी राजनीतिक उद्देश्यसँग जोडिएको हुन सक्ने बताए। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भेनेजुएलाबाट लागुऔषध प्रायः गोप्य उडानमार्फत अमेरिका पुग्ने हुँदा समुद्री मार्गमा आक्रामक सैन्य उपस्थिति आवश्यक नपर्ने बताए।
गत महिना अमेरिकाले राष्ट्रपति मदुरोलाई लागुऔषध कार्टेलसँग सम्बन्धित भन्दै उनको गिरफ्तारीमा सहयोग गर्नेहरूलाई दिइने पुरस्कार दोब्बर पारेर ५० मिलियन डलर पुर्याएको थियो। अमेरिकी अधिकारीहरूले मदुरोलाई दशकौँदेखि ‘कार्टेल डे लोस सोलेस’ का प्रमुखका रूपमा आरोप लगाउँदै आएका छन्।

