काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १० कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । असोज ३ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका कम्पनीले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम २१ प्रतिशतसम्म लाभांश घोषणा गरेका हुन् ।
तर, यसपालि पुँजीबजारको सुस्त गतिले गर्दा लगानीकर्ताको दशैँ उत्साहपूर्ण बन्न सकेको छैन । लाभांश घोषणा भए पनि सम्बन्धित लगानीकर्ताको खातामा दशैँअघि नपुग्ने भएकोले निराशा बढेको छ । साथै, हालैको जेन–जी आन्दोलनका कारण शेयर बजारमा आएको गिरावटले चाडपर्वको माहोललाई थप प्रभावित बनाएको छ ।
समीक्षा अवधिसम्म लाभांश घोषणा गर्ने कम्पनीमध्ये पाँच बैंक, तीन हाइड्रोपावर, एक इन्भेष्टमेन्ट कम्पनी र नेपाल ल्यूब आयल रहेका छन् । केही कम्पनीले वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् भने केहीले मिति अझै तोकेका छैनन् ।
लाभांश घोषणामा नेपाल ल्यूब आयल अग्रस्थानमा छ । कम्पनीले १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २०.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकतर्फ, एभरेष्ट बैंकले १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गर्दै अग्रस्थान लिएको छ । मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत, कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
हाइड्रोपावरतर्फ सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत लाभांश, अरुण भ्याली हाइड्रोपावरले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै, हाथवे इन्भेष्टमेन्टले ०.६३२ प्रतिशत नगद र १२ प्रतिशत बोनससहित १२.६३२ प्रतिशत लाभांश, र माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
लगानीकर्ताले लाभांश प्राप्त गर्न बुकक्लोज मिति तय हुन बाँकी रहेकाले अझै अवसर खुला रहेको नेप्से स्रोतले जनाएको छ ।

