२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विपिन जोशीका दाजु किशोर भन्छन्– हमासले...

विपिन जोशीका दाजु किशोर भन्छन्– हमासले छोड्नुपर्ने अझै छन्, भाइ फर्किन्छ भन्ने आशा छ(भिडियोसहित)

विपिन जोशीका दाजु किशोर भन्छन्– हमासले छोड्नुपर्ने अझै छन्, भाइ फर्किन्छ भन्ने आशा छ(भिडियोसहित)

सोमवार, आश्विन २७ २०८२०२:३०
सोमवार, आश्विन २७ २०८२०२:३०
  • images

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको सूचना आए पनि उनका परिवारले अझै आशा मारेका छैनन्। हमासले बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गर्ने क्रममा अझै केही मानिसहरू बाँकी रहेका कारण अहिले नै निराश हुन नहुने विपिनका दाजु किशोर जोशीले बताएका छन्।

    ‘युद्धविराम क्रममा आज बन्धकहरू रिहा भइरहेका छन्। बिहान इजरायलसँग पनि कुरा भयो, हमासले आधिकारिक रूपमा छोड्नेमा अझै मान्छेहरू बाँकी छन्,’ दाजु किशोरले कञ्चनपुरस्थित निवासमा भने, ‘त्यसैले हामीलाई अझै आशा बाँकी छ। भाइ आउँछ भन्ने विश्वास छ। निराश हुनुपर्ने ठाउँ छैन।’

    इजरायली सेनाका एक अधिकारीले इजरायलको स्थानीय समयअनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावास र विपिनको परिवारका सदस्यहरूलाई दिएका छन्। सो जानकारी भिडियो कन्फरेन्समार्फत इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूलाई दिइएको थियो।

    राजदूत पण्डितका अनुसार इजरायली अधिकारीहरूले विपिन जीवित नरहेको जानकारी गराए पनि घटनाबारे थप विवरण प्राप्त हुन सकेको छैन। उनले भने, ‘इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं, घटनाको पूर्ण विवरण र पुष्टि गर्न केही समय लाग्छ।’

    विपिन जोशी २०८० असोज २३ गते हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी भएर गाजाको सीमामा अवस्थित किबुट्ज अलुमिममा कार्यरत थिए। त्यही आक्रमणमा उनका अन्य साथी नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए। विपिन भने आक्रमणपछि सम्पर्कविहीन बनेका थिए।

    हमासले आज पनि आफ्ना कब्जामा रहेका केही बन्धकहरूलाई रेडक्रसका प्रतिनिधिमार्फत इजरायलमा बुझाउने तयारी गरिरहेको इजरायली अधिकारीहरूले बताएका छन्। त्यसैले जोशी परिवारले अझै पनि उनी फर्किने आशा बाँकी रहेको बताइरहेका छन्।

    इजरायली सेनाबाट आएको पछिल्लो सूचना परिवारका लागि पीडादायी भए पनि उनीहरू अझै आशावादी छन्। ‘हामीलाई अझै लाग्छ, कुनै चमत्कार हुन्छ र भाइ फर्किन्छ,’ दाजु किशोरको भनाइ छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend