काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनामा संलग्न दोषीमाथि छानबिन गरी कारबाही अगाडि बढाउन र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
महासंघका अनुसार यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर मात्र बनाएको छैन, आर्थिक क्रियाकलापमा समेत नकारात्मक असर पुर्याएको छ। “घटनाका दोषीमाथि जाहेरी दर्ता नहुने र कारवाहीमा उदासीनता देखिएको जानकारी प्राप्त भइरहेको छ। यस्तो अवस्था कायम रहे दण्डहीनता बढ्ने र लगानीको वातावरणमा गम्भीर चुनौती सिर्जना हुने देखिन्छ,” महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
महासंघले निजी क्षेत्रको सुरक्षाका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरेको छ। यसका लागि सम्बन्धित जिल्ला–नगर उद्योग वाणिज्य संघका अध्यक्ष र प्रतिनिधि सहभागी गराइने व्यवस्था बनाउन औपचारिक पत्राचार समेत गरिएको छ।
आइतबार महासंघको पदाधिकारी, स्थायी समिति तथा समितिहरूको छलफलमा कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, “शान्ति सुरक्षा नभइ स्थायित्व आउँदैन, स्थायित्व नभइ उद्यम व्यवसाय सञ्चालन हुन सक्दैन, र व्यवसाय नचल्दा अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न हुन्छ।” उनले दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यमीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्नेमा जोड दिए।
निवर्तमान अध्यक्ष शेखर गोल्छाले भने, “देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन र निजी क्षेत्र आत्मविश्वासपूर्वक काम गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारको सक्रियता आवश्यक छ।”
छलफलमा उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति र समितिहरूका सभापतिहरू सहभागी भएका थिए।

