२०८३, आश्विन २० गते

images

दुई अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न भारतसँग सम्झौता

दुई अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न भारतसँग सम्झौता

बुधवार, कार्तिक १२ २०८२०३:११
बुधवार, कार्तिक १२ २०८२०३:११
  • images

    काठमाडौं । नेपाल र भारतबीच दुईवटा नयाँ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) र शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितिमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्जयकुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानीमा इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापना गर्ने मार्ग खुलेको छ ।

    कार्यक्रममा मन्त्री घिसिङले थप दुईवटा क्रस–बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु नेपाल र भारतबीचको विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण माइलस्टोन भएको बताए । उनका अनुसार, यी प्रसारण लाइनहरू निर्माण भएपछि नेपालमा उत्पादित विद्युत निर्यात गर्ने दिगो आधार तयार हुनेछ । यसबाट नेपालको अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पहुँच बढ्ने र जलविद्युत क्षेत्रमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सहजता आउने उनले बताए ।

    त्यसैगरी, भारतीय विद्युतमन्त्री मनोहरलाल खट्ठरले दुईवटा नयाँ प्रसारण लाइन निर्माण भएपछि नेपाल–भारतबीचको विद्युत विनिमय अझ सुदृढ हुने बताए । उनका अनुसार, यो परियोजनाले दुबै देशबीचको आर्थिक सम्बन्धलाई मजबुत पार्नुका साथै क्षेत्रीय ऊर्जा सुरक्षामा पनि सुधार ल्याउनेछ ।

    मन्त्रिपरिषद्को ३० असोजको बैठकले यस परियोजनाका लागि नेपाल विद्युत प्राधिकरण र पावर ग्रिडको लगानीमा संयुक्त कम्पनी स्थापना गर्न अनुमति दिएको थियो । सम्झौताअनुसार भारतमा निर्माण हुने कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत शेयर हिस्सा रहनेछ । त्यसैगरी नेपालमा निर्माण हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत हिस्सा रहनेछ ।

    दुईवटा प्रसारण लाइन निर्माणका लागि ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पूँजी रहने गरी वित्तीय संरचना तय गरिएको छ । इनरुवा–पूर्णिया प्रसारण लाइनको करिब २६ किलोमिटर भाग नेपालतर्फ र १०९ किलोमिटर भाग भारततर्फ पर्नेछ । त्यस्तै, लम्की–बरेली प्रसारण लाइनको ३३ किलोमिटर भाग नेपालतर्फ र १८५ किलोमिटर भाग भारततर्फ पर्नेछ ।

    सन् २०१९ मा तयार गरिएको नेपाल–भारत संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनअनुसार, इनरुवा–पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली खण्डमा २ अर्ब ६५ लाख भारतीय रुपैयाँ र भारतीय खण्डमा ४ अर्ब १३ करोड भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । त्यस्तै, लम्की–बरेली प्रसारण लाइनको नेपाली खण्डमा २ अर्ब ५७ करोड र भारतीय खण्डमा ६ अर्ब १४ करोड भारतीय रुपैयाँ लागत लाग्ने अनुमान छ ।

    नेपाल विद्युत प्राधिकरणले आफ्नै स्रोतबाट नेपाल र भारतमा स्थापन हुने संयुक्त कम्पनीमा क्रमशः १ अर्ब र २ अर्ब रुपैयाँ बराबरको इक्विटी लगानी गर्ने जनाएको छ ।

    यो सम्झौता नेपाल–भारतबीचको ऊर्जा सहकार्यमा अर्को महत्वपूर्ण अध्यायको रूपमा हेरिएको छ । प्रसारण लाइन निर्माण सम्पन्न भएपछि नेपालले भारत र अन्य देशहरूमा विद्युत निर्यात गर्न पाउनेछ, जसले नेपालको ऊर्जा व्यापारलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend