काठमाडौं । अमेरिकासँगको बढ्दो व्यापार घाटा कम गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न, जापानले एक अनौठो कदम चाल्ने तयारी गरेको छ ,आफ्नै देशमा बनेका जापानी कारहरू अमेरिकाबाट आयात गर्ने।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जापानका नयाँ प्रधानमन्त्री सनई टाकाइचीले अमेरिकासँगको व्यापार असन्तुलन समाधानका लागि यो ‘राजनीतिक–आर्थिक सन्तुलनको रणनीति’ अघि सारेकी हुन्।
यो निर्णय आर्थिक रूपमा महँगो र व्यावहारिक रूपमा कठिन भए पनि ट्रम्पलाई खुसी पार्ने प्रयासका रूपमा हेरिएको छ।जापानमा उत्पादन हुने टोयोटा र निसानका केही मोडलहरू अमेरिकी प्लान्टमा बनेका गाडीका रूपमा “रिभर्स इम्पोर्ट” (अमेरिकाबाट फिर्ता आयात) गर्न अध्ययन भइरहेको छ।
टोयोटाका प्रमुख कार्यकारी कोजी सातोले भने, “हामी यसलाई व्यापारिक अवसरका रूपमा होइन, खुला र निष्पक्ष व्यापार प्रवर्द्धनको प्रतीकका रूपमा हेर्छौं।”
निसानका प्रमुख गिलयोम कार्टियरले पनि रिभर्स इम्पोर्टको सम्भावना ‘गम्भीर अध्ययनमा रहेको’ बताए। तर, अमेरिकी श्रम लागत महँगो हुनु र जापानी येन कमजोर हुनुले अमेरिकाबाट आयात गरिने कार अत्यधिक महँगो पर्ने विज्ञहरूको निष्कर्ष छ।
साथै, जापान सरकारले अमेरिकी कम्पनी फोर्डका F-150 ट्रकहरू खरिद गर्ने योजनासमेत बनाएको बताइएको छ, जुन जापानका साँघुरा सडकका लागि व्यावहारिक नभए पनि राजनीतिक सन्देशका लागि ‘प्रतीकात्मक खरीद’ मानिएको छ।
अटो उद्योग विश्लेषक ताकाकी नाकानिशीका अनुसार, “यो कदम व्यापार घाटा घटाउने भन्दा पनि ट्रम्प प्रशासनसँग विश्वासको वातावरण निर्माण गर्ने प्रतीक हो।”
हाल अमेरिकासँग जापानको व्यापार घाटा ६८.५ अर्ब अमेरिकी डलर पुगेको छ। गत वर्ष जापानले १४ लाख गाडी अमेरिका पठाएको र अमेरिकामै ३३ लाख जापानी कारहरू उत्पादन भएको तथ्यांक छ।जापानको यो कदमले वास्तविक व्यापार सन्तुलनमा ठूलो प्रभाव नपार्ने भए पनि राजनीतिक सन्देश र द्विपक्षीय सम्बन्ध सुधारका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ।

