काठमाडौं । यूएई भ्रमण नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि चुनौतीपूर्ण रह्यो, तर यस यात्राले टोलीलाई सुधार र पुनरुत्थानको अवसर पनि दिएको छ। वेस्ट इण्डिजविरुद्धको ऐतिहासिक सिरिजपछि ठूलो आशा गरिएको भए पनि, अमेरिकासँग र यूएईसँगको पछिल्ला खेलहरूले नेपालको एकदिवसीय (ओडीआई) अभियानमा कठिन मोड ल्याएका छन्।
त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार तीन हारले नेपालको विश्वकप लिग–२ यात्रालाई जटिल बनाएको छ। तर कप्तान रोहित पौडेलको शतक र युवा खेलाडीहरूको जोशले नेपाललाई अझ मजबुत फर्किने प्रेरणा दिएको छ।
हालसम्म १९ खेल खेलेको नेपालले ५ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ। अंक तालिकामा सातौँ स्थानमा रहेको नेपालले अब बाँकी १७ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउने लक्ष्य लिएको छ।
यूएई भ्रमणमा ब्याटिङ अस्थिर, बलिङ अनियमित र फिल्डिङ कमजोर देखिए पनि टोलीले आगामी खेलहरूमा सुधारका लागि तयारी थालेको छ। प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा टिमले पुनः लय समात्ने योजना बनाएको नेपाल क्रिकेट संघ ९क्यान० का स्रोतहरूले जनाएका छन्।कप्तान पौडेलले यूएईविरुद्ध शतक प्रहार गर्दै ओडीआईमा दुई शतक बनाउने पहिलो नेपाली खेलाडीको रूपमा इतिहास रचेका छन्। यद्यपि सो खेलमा नेपाल पराजित भयो, पौडेलको प्रदर्शनले टोलीमा आत्मविश्वास थपेको छ।
यसअघि सन् २०२३ मा मोन्टी देसाईको आगमनपछि नेपालले संकटको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गरेको अनुभव छ। त्यसैको आधारमा अहिलेको कठिन यात्राबाट पनि नेपाल फेरि माथि उठ्ने विश्वास व्यक्त गरिएको छ।अब नेपालले लिग–२ अन्तर्गत बाँकी १७ खेलमा आफ्नो खेल सुधार्दै ओडीआई मान्यता मात्र जोगाउने होइन, विश्वकप छनोटमा सिधा स्थान बनाउन लक्ष्य लिएको छ।

