काठमाडौँ । लमजुङको क्व्होलासोथार गाउँपालिकाको आयोजनामा गाउँपालिका–४, भुजुङस्थित भुजुङ स्वास्थ्य चौकीमा आज मङ्गलबारदेखि निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ।
“उज्यालो आँखाः उज्यालो जीवन” भन्ने नारासहित सुरु गरिएको उक्त शिविरमा मोतिबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिनुका साथै अपरेशनअघि र पछि आवश्यक औषधि, कालो चस्मा तथा पढ्न–लेखन गर्न सहयोग पुग्ने पावर चस्मा पनि वितरण गरिनेछ।
शिविरको अध्यक्षता नारायण बहादुर गुरुङले गरेका थिए भने गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरुङ प्रमुख अतिथि रहेका थिए । प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले विशेष अतिथि रहेको कार्यक्रममा मुटु फाउन्डेसनका संस्थापक धन बहादुर गुरुङ, मनोज एसोसिएट फ्रेन्च र रोटरी क्लब हिमालयन गोल्फर्सका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी रहेका छन्।
शिविरको व्यवस्थापन मुटु फाउन्डेशन, मनोज एसोसिएट फ्रेन्च र रोटरी क्लब हिमालयन गोल्फर्सले संयुक्त रूपमा गरेका हुन्। स्वास्थ्य शाखा प्रमुख तृलोक चन्द्र गुरुङ, कार्यपालिका सदस्य हेमन्त गुरुङ, वडा सदस्यहरू तथा टोलस्तरका प्रतिनिधिहरूको सक्रिय सहभागितामा शिविर सञ्चालन भइरहेको छ।
शिविर हिमालय आँखा अस्पताल, पोखरा र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। ग्रामीण बस्तीका ज्येष्ठ नागरिक तथा दृष्टिदोष भएका व्यक्तिलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यो शिविर मिति २०८२ कार्तिक २० गतेसम्म चल्नेछ।

