२०८३, आश्विन २० गते

images

छाया सेन्टरको वार्षिक कारोबार ९० करोड नाघ्यो, प्रतिकित्ता ४ सयमा आईपीओ जारी हुने

छाया सेन्टरको वार्षिक कारोबार ९० करोड नाघ्यो, प्रतिकित्ता ४ सयमा आईपीओ जारी हुने

सीएनएन खबर
बुधवार, कार्तिक १९ २०८२१२:४३
सीएनएन खबर
बुधवार, कार्तिक १९ २०८२१२:४३
  • images

    काठमाडौं । ठमेलस्थित छायादेवी कम्प्लेक्स लिमिटेड ९छाया सेन्टर० ले सन् २०२५ मा उल्लेखनीय व्यापार वृद्धि गर्दै वार्षिक कारोबार ९० करोड ४० लाख रुपैयाँ पुर्‍याएको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा ६.३५ प्रतिशत अर्थात् करिब ५ करोड ४० लाख रुपैयाँले कारोबार वृद्धि गरेको जनाएको छ।

    गत वर्ष (सन् २०२४) कम्पनीको कारोबार रु. ८५ करोड थियो भने सन् २०२३ मा ८३ करोड ७० लाख र सन् २०२२ मा ८४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

    छायादेवी कम्प्लेक्सले ठमेलमा पाँचतारे होटल अलफ्ट काठमाडौं थमेल सञ्चालन गर्दै आएको छ। कम्पनीको कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत भाग होटल सञ्चालनका लागि र बाँकी भाग व्यावसायिक मलका लागि प्रयोग गरिएको छ।

    सन् २००८ जनवरीमा स्थापना भएको कम्पनीले जुन २५, २०२१ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई सर्वसाधारणका लागि शेयर निष्कासनको तयारी सुरु गरिसकेको छ। कम्पनीले अंकित मूल्य रु. १०० मा रु. ३०० प्रिमियम थपेर प्रतिकित्ता रु. ४०० का दरले आईपीओ जारी गर्ने योजना बनाएको छ।

    छायादेवी कम्प्लेक्सले सर्वसाधारणका लागि १४ लाख ३७ हजार ५०० कित्ता शेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको छ। यसमार्फत कम्पनीले करिब रु. ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड लाई दिइएको छ।

    कम्प्लेक्स निर्माणका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रारम्भमा करिब रु. २ अर्ब ऋण लिएको भए पनि हाल त्यो घटाएर रु. १ अर्ब ८५ करोडमा पुर्‍याएको छ। त्यसमा रु. १ अर्ब ८० करोड ७० लाख दीर्घकालीन र रु. ४ करोड ३० लाख अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ। रेटिङ कम्पनी सेयर रेटिङ नेपाल का अनुसार छायादेवी कम्प्लेक्सलाई दीर्घकालीन ऋणका लागि BBB- (ट्रिपल बी माइनस) र अल्पकालीन ऋणका लागि A3 रेटिङ प्रदान गरिएको छ।

    कम्पनीको सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुन्, जो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष समेत हुन्। अन्य सञ्चालकहरूमा सुमन बिक्रम पाण्डे, सहृदराज घिमिरे र महेश प्रकाश श्रेष्ठ रहेका छन्।

    छायादेवी कम्प्लेक्सले ठमेल क्षेत्रमा होटल व्यवसाय र व्यावसायिक मल दुवैबाट आम्दानी वृद्धि गर्दै आगामी वर्षमा थप स्थायित्वका साथ कारोबार विस्तार गर्ने लक्ष्य लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend