काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालका निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ। यो कार्यक्रम काठमाडौंको जमलस्थित चेम्बर भवनमा सम्पन्न भएको हो।
छलफलमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु उपस्थित थिए भने विश्व बैंक समूहबाट साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो।
अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’ पछि परेको प्रभाव, लगानी वातावरण, नीति तथा कानुनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखेका थिए। उनले नेपालको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम र लगानी प्रतिफल सुनिश्चितता जस्ता सबल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक बनाएको बताए।
अग्रवालले प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै कृषि, जलविद्युत, पर्यटन, खानी, जडीबुटी र औषधीजन्य वनस्पति क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको बताए।
विश्व बैंकका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालमा निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, नीति–सामञ्जस्य, लगानी प्रवर्द्धन र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए। छलफलमा कृषि, सूचना प्रविधि, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, जग्गा र आवास लगायतका क्षेत्रमा चुनौती र सुधारका सुझावहरू प्रस्तुत भएका थिए।
विश्व बैंक टोलीमा असिम नेपाल, फारिया टासिन र कमलिका दासलगायत वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

