काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार अर्बौं रकम बराबरका नोट चलनचल्तीबाट हटाइएका छन्। प्रतिवेदनमा उल्लेख भएअनुसार ७ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ बराबरका झुत्रा, फाटेका, मैला र चलनचल्तीका लागि अयोग्य नोट राष्ट्र बैंकमा फिर्ता ल्याई धुल्याइएका छन्।
प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले ल्याएका यस्ता क्षतिग्रस्त नोटलाई नोट चेस्ट ट्रान्जेक्सन सिस्टम मार्फत ब्रिकेट्समा रूपान्तरण गरिएको छ।
गत आर्थिक वर्षमा मात्र १९ अर्ब ५४ करोड १२ लाख ६२ हजार रुपैयाँ धुल्याइएको राष्ट्र बैंकले बताएको छ। धुल्याइएका नोटमा सबैभन्दा बढी ५०० र १००० रुपैयाँका नोटको हिस्सा ठूलो रहेको छ।
५०० रुपैयाँका १ करोड ५७ लाख १० हजार नोट (७ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ)
१००० रुपैयाँका ६४ लाख २२ हजार नोट (६ अर्ब ४२ करोड २३ लाख रुपैयाँ)
त्यस्तै, ५, १०, २०, ५० र १०० रुपैयाँका करोडौँ नोट पनि धुल्याइएका छन्।
राष्ट्र बैंकले प्रत्येक वर्ष पुराना र क्षतिग्रस्त नोट संकलन तथा नष्ट गर्ने प्रक्रियालाई निरन्तरता दिएको छ। दशैं–तिहार–छठलगायत पर्वमा नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गरी नोटको आयु बढाउने प्रयास भइरहेको बैंकले जनाएको छ।

