काठमाडौँ । दुई जिवन बीमा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेका छन् । सोमबार एक सूचना जारी गर्दै दुई बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका हुन् ।
सूचना अनुसार आइएमई लाइफ इन्स्योरेन्सले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा गरेको हो ।
उक्त बोनसदर अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने बीमालेखहरूमा गत आवको लागि न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकिएको छ । साथै बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र आगामी बीमांकीय मूल्यांकन नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा बीमा अवधि (वर्ष) अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस (प्रति हजार) तोकेको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
अर्काे बीमा योजना अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म, बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमा योजनाका सबै बीमा अवधिका लागि समान २२ रुपैयाँ र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म कम्पनीले बोनस दिने भएको छ ।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम गरेको हो ।
कम्पनीबाट मुनाफामा सरिक हुने अर्थात् बोनस आर्जन गर्ने गरी जारी गरिएका सबै बीमालेखहरूमा गत आवको लागि न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकिएको छ । बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्ता मूल्य दाबी र चालू बीमालेखहरूमा लागू हुने र अर्काे बीमांकीय मूल्यांकन प्रतिवेदन बमोजिम प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृत नभएसम्म यही बोनसदर कायम रहनेछ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिजन शुभारम्भ योजना (सावधिक बीमालेख) मा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यस्तै कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख), सिटिजन बालप भविष्य योजना प्लस (सावधिक बीमलेख) मा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म र सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीव्न बीमालेख) मा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिनेछ ।

