काठमाडौँ । उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आइतबार बिजुलीबजारस्थित प्रधान कार्यालयबाट सीईओ शेरचनसहितबैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेतलाई पक्राउ गरेको थियो ।
सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् ।
९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

