काठमाडौं । भारतीय पूँजी बजारमा खुद्रा लगानीकर्ताको तीव्र वृद्धि पछिल्लो समय विश्वभरका फन्ड हाउसलाई फेरि भारततर्फ फर्काइरहेको छ। तीव्र आर्थिक वृद्धि, एसआईपी संस्कार, सक्रिय प्राथमिक बजार र बढ्दो मध्यम वर्गका कारण भारत अब विश्वका ठूला एसेट म्यानेजरका लागि सबैभन्दा आकर्षक गन्तव्य बन्दै गएको छ।
सबैभन्दा ठूलो संकेत अमेरिकास्थित ब्ल्याकरकको ‘कमब्याक’ हो। २०१८ मा भारत छोडेको ब्ल्याकरकले यस वर्ष जियोसँग संयुक्त उद्यम स्थापना गर्दै ‘जियो–ब्ल्याकरक’मार्फत दर्जनौँ नयाँ म्युचुअल फन्ड योजना शुरू गर्यो। कम्पनीले मे महिनामा नियामक अनुमति पाएको थियो र जुलाईसम्ममा तीन योजनाबाट मात्र २.१ अर्ब डलरभन्दा बढी संकलन गरिसकेका छन्।
यस्तै, विश्वकै चौथो ठूलो एसेट म्यानेजर स्टेट स्ट्रीटले पनि भारतकै फन्ड हाउसमा लगानी गर्ने योजना बनाइरहेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ। अमेरिकादेखि दक्षिण कोरियासम्मका कम्पनीहरूले भारतमा आफ्ना युनिट सूचीबद्ध गर्ने तयारी तीव्र पारेपछि बजार झनै सक्रिय बनेको विश्लेषकहरूको भनाइ छ।
३.३ ट्रिलियन डलरको अवसर
परामर्शदाता कम्पनी बेन एन्ड कम्पनीका अनुसार भारतको खुद्रा–केन्द्रित म्युचुअल फन्ड सम्पत्ति २०२५ को ४५ खर्ब भारुबाट बढेर २०३५ सम्ममा ३०० खर्ब भारु, अर्थात् ३.३ ट्रिलियन डलर पुग्ने अनुमान छ।
भारतको कुल म्युचुअल फन्ड सम्पत्तिको अनुपात देशको जीडीपीकै तुलनामा अझै १५ प्रतिशतभन्दा कम छ, जबकि अमेरिका र क्यानडाजस्ता विकसित अर्थतन्त्रमा यो हिस्सा ८० प्रतिशत छ। यही कारणले भारतलाई फन्ड उद्योगका लागि विशाल, अब्बल र दीर्घकालीन बजारका रूपमा हेरिएको छ।
एसआईपी संस्कारले बजारलाई द्रुत गतिमा अघि बढायो
भारतमा सिस्टेमाटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) हालको म्युचुअल फन्ड बूमको मुख्य चालक बनेको छ। एएमएफआईका तथ्यांकअनुसार २०२१ देखि २०२५ बीच एसआईपीमार्फत हुने लगानी करिब तीन गुणा बढेर २.८९ खर्ब रुपैयाँ पुगेको छ।
आरबीआईको तथ्यांकले पनि यही संकेत गर्छ। २०२३ मा घरपरिवारको कुल वित्तीय बचतमा म्युचुअल फन्डको हिस्सा ०.९ प्रतिशतबाट बढेर ६ प्रतिशत पुगेको छ,यो परिवर्तन भारतीय खुद्रा लगानीकर्ताको मनोवृत्तिमा आएको ठूलो ‘शिफ्ट’का रूपमा हेरिएको छ।
आइपीओ बजार झनै तातेको
यस वर्ष भारतको प्राथमिक बजार अत्यन्तै तातो भएको छ। पहिलो तीन त्रैमासिकमै २५२ वटा आईपीओबाट ११.४ अर्ब डलर उठिसकेको छ। अब एलजी इलेक्ट्रोनिक्स, टाटा क्यापिटल, लेन्सकार्टजस्ता ठूला आईपीओ आउँदै हुँदा यो रकम गत वर्षको १९.९ अर्ब डलरलाई सहजै पार गर्ने अनुमान छ।
विशेष रूपमा, एलजी इलेक्ट्रोनिक्सको आईपीओमा संस्थागत लगानीकर्ताको बुक १५० गुणा सब्सक्राइब भयो। २०२५ मा भएको ठूला आईपीओमा उठेको १।६ ट्रिलियन भारुमध्ये २२ प्रतिशत रकम म्युचुअल फन्डबाट गएको देखिन्छ। यसरी आईपीओ ओभरसब्सक्राइब हुँदा कम्पनीलाई भण्डार मात्रै बढेन, म्युचुअल फन्डहरूले पनि उल्लेखनीय प्रतिफल पाएका छन्।
विदेशी बजारतर्फ भारतीय लगानीकर्ताको आकर्षण
अमेरिकाको एआई बूम, चीनको बजार पुनरुत्थानजस्ता विषयले भारतीय लगानीकर्तालाई विदेशी बजारतर्फ आकर्षित गरिरहेको छ। सीधा लगानीमा कडा पूँजी नियन्त्रण भए पनि म्युचुअल फन्डमार्फत अफशोर इन्भेस्टमेन्ट गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ।
हाल भारतमा अफशोर लगानीको उद्योग सीमा ७ अर्ब डलर मात्र छ, तर आगामी वर्षहरूमा यो सीमा विस्तार हुने सम्भावना धेरै छ।
Foreign Fund आकर्षण अझै बढ्ने विश्लेषण
विगत दशकमा सुस्त वृद्धिका कारण भारतबाट बाहिरिएका धेरै विदेशी फन्ड हाउस अहिले पुनः प्रवेश गर्दै वा योजना बनाउँदै छन्। ह्वाइटओक क्यापिटलका इमर्जिङ मार्केट CIO हिरेन दासानी भन्छन्:-“अब भारतको सम्पत्ति यति ठूलो भइसकेको छ कि विश्वका ठूला फन्ड हाउसलाई आकर्षित नगरी नहुने अवस्था छ।” जियो ब्ल्याकरकका सीईओ सिड स्वामीनाथनको दाबी अनुसार भारतको म्युचुअल फन्ड उद्योग आउँदो ७ वर्षमा तीन गुणा हुने पक्का छ।
भारत हाल विश्व म्युचुअल फन्ड उद्योगको केन्द्रबिन्दुमा आएको छ। बढ्दो आय, युवापुस्ताको लगानी संस्कार, तीव्र आर्थिक वृद्धि, डिजिटल फाइनान्स, र सक्रिय प्राथमिक बजारले भारतलाई अर्को दशकमा विश्वकै सबैभन्दा ठूलो खुद्रा–केन्द्रित फन्ड बजारहरू मध्ये एक बनाउने प्रक्षेपण छ। यही कारण अहिले विश्वका ठूला फन्ड हाउस ‘भारत प्रवेश’लाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकतामा राखिरहेका छन्।

