काठमाडौं ।नेकपा एमालेभित्रको शक्ति संघर्षले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको महासचिव बन्ने आकांक्षा अन्ततः असफल भएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट उनी उपाध्यक्षको उम्मेदवार बन्न बाध्य भएका छन्।
पार्टीभित्र केपी ओलीको बलियो प्रतिरक्षा गर्दै आएका गुरुङ महासचिवका प्रमुख दाबेदारमध्ये मानिन्थे। उनले अन्तिम समयसम्म पनि अध्यक्ष ओलीसँग आफू महासचिव बन्न इच्छुक रहेको स्पष्ट रूपमा राख्दै आएका थिए। शंकर पोखरेललाई महासचिवमा दोहोरिन नहुने भन्दै गुरुङ स्वयं महासचिवको उम्मेदवार बन्ने दाबी गर्दै आएका थिए।
तर अध्यक्ष ओलीले महासचिवमा उनलाई अघि नबढाएपछि गुरुङको राजनीतिक दाब कमजोर बन्यो। ओलीले उनलाई उपाध्यक्षमा सीमित गरेपछि गुरुङ आफ्नो आकांक्षा त्याग्दै ओलीकै प्यानलमा रहन सहमत भएका हुन्। यसले एमालेभित्र निर्णय प्रक्रियामा ओलीको एकल प्रभाव झनै हाबी भएको संकेत गरेको छ।
पछिल्लो समय विद्या भण्डारी–ईश्वर पोखरेल पक्षसँग निकट संवादमा रहेका गुरुङ उपाध्यक्ष विष्णु पौडेल निकट नेता मानिन्छन्। ओलीले गुरुङलाई महासचिवमा अघि नबढाउँदा पोखरेल पक्षबाट उनलाई महासचिवको उम्मेदवार बनाउने तयारीसमेत भएको थियो। सो पक्षबाट महासचिवका उम्मेदवार बनेका सुरेन्द्र पाण्डे पनि गुरुङलाई अघि सार्न तयार थिए।
गुरुङ महासचिव बनेमा शंकर पोखरेललाई बलियो चुनौती दिन सकिने विश्लेषण गरिएको थियो। तर गुरुङ स्वयं उपाध्यक्षमै सीमित हुन तयार भएपछि उक्त योजना विफल भयो र पाण्डे महासचिवका उम्मेदवार बने।
भदौ २३ र २४ गतेको जनआन्दोलनपछि ओली सरकार ढल्नुअघिसम्म गुरुङ सञ्चार, सूचना तथा प्रविधि मन्त्री थिए। सरकार विदेशी षड्यन्त्रबाट ढालिएको र केपी ओली राष्ट्रवादी नेता भएको दाबी गर्दै उनी पछिल्लो समय ओली नै पुनः अध्यक्ष बन्नुपर्ने तर्क गर्दै आएका थिए।
पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका गुरुङ सुरुमा शिक्षण पेशामा आवद्ध थिए। २०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएसँगै उनी सक्रिय कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका हुन्। तर लामो राजनीतिक यात्रापछि पनि महासचिव बन्ने उनको महत्वाकांक्षा यसपटक पार्टी नेतृत्वको निर्णयले रोकिएको छ।

