२०८३, आश्विन १९ गते

images
  • समाचार
  • गगन थापाको घोषणा : १५औँ महाधिवेशनमा...

गगन थापाको घोषणा : १५औँ महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी, ‘म जित्छु’

गगन थापाको घोषणा : १५औँ महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी, ‘म जित्छु’

सोमवार, पौष ७ २०८२१०:४५
सोमवार, पौष ७ २०८२१०:४५
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। काठमाडौं–४ का निर्वाचित नेताकार्यकर्तासँगको छलफलका क्रममा थापाले सभापतिमा लड्ने मात्र नभई सभापति बन्ने दाबीसमेत गरेका हुन्।

    काठमाडौंमा आयोजित छलफल कार्यक्रममा थापाले पार्टीलाई नयाँ दिशामा लैजान नेतृत्व परिवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरे। “म अहिले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्छु,” उनले स्पष्ट भने।

    थापाको यो घोषणालाई कांग्रेसभित्र सभापतिका लागि नेतृत्व दौड औपचारिक रूपमा सुरु भएको संकेतका रूपमा हेरिएको छ। उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउँदै संगठनलाई जनमुखी र समयअनुकूल रूपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए।

    कांग्रेसलाई पुराना अभ्यासबाट मुक्त गर्दै नयाँ पुस्ताको अपेक्षाअनुसार अघि बढाउन आफू तयार रहेको उल्लेख गर्दै थापाले पार्टीभित्रको गुटबन्दी, असन्तुष्टि र कार्यकर्ताको मनोबल खस्किँदै गएको अवस्थालाई अन्त्य गर्न स्पष्ट र भरोसायोग्य नेतृत्व आवश्यक रहेको बताए।

    कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूले थापाको घोषणालाई सकारात्मक रूपमा लिँदै उनको सक्रियताले पार्टीमा नयाँ ऊर्जा थप्ने प्रतिक्रिया दिएका छन्। पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनलाई केन्द्रमा राखेर नेतृत्व आकांक्षा सार्वजनिक हुन थालेका बेला थापाको घोषणाले राजनीतिक तरङ्ग सिर्जना गरेको छ।

    यसैबीच, अर्को प्रसङ्गमा महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाप्रति आलोचनात्मक टिप्पणीसमेत गरेका छन्। उनले असोजमै महाधिवेशनको निर्णय भएको भए कांग्रेसले समयमै महाधिवेशन सम्पन्न गरिसक्ने दाबी गर्दै नेतृत्वले स्पष्ट बाटो नदिएको आरोप लगाए। यद्यपि, उनले पार्टीभित्र अनावश्यक आरोप–प्रत्यारोपभन्दा समाधानमुखी राजनीति आवश्यक रहेकोमा जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend