काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३८औँ वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गते बिहान साढे १० बजे काठमाडौँको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभामा कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश र ८.५ प्रतिशत बोनस सेयर गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।
कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेको छ। त्यसअनुसार बोनस सेयर बापत लाग्ने कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।
सभामा कम्पनीका अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आवको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरिनेछ।
यसैगरी चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, साथै आव २०८१/८२ मा भएको खर्च अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

