सीएनएन खबर/ आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्भेष्मेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष पनि लगानीकर्तालाई खिन्न बनाएको छ ।
बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यस विषयमा औपचारिक निर्णय गरेर जनाएको छ । यो निर्णयसँगै बैंकका शेयरधनीले लगातार तीन वर्षसम्म लाभांश पाउन नसक्दा हात खाली भएको अवस्था कायमै रहेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा बोनस र नगदसहित कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका आर्थिक वर्षहरूमा बैंकले कुनै लाभांश वितरण नगरेको छ ।
यसरी बैंकले लाभांश वितरण नगर्नुका विभिन्न कारणहरु रहेका छन् । पछिल्लो समय बैंकको वित्तीय विवरणलाई हेर्दा बैंक झन् पछि झन् खस्कदै गएको स्पष्ट देखिन्छ ।
घट्यो नाफा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँको नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ र खुद फि तथा कमिसन आम्दानी ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी आम्दानीहरू क्रमशः उच्च थिए, तर हालका परिस्थितिहरूले नाफामा गिरावट ल्याएको देखिन्छ ।
बैंकले २०८२/८३ को पहिलो त्रैमासमा ९७ करोड ५२ लाख रुपैयाँको प्रोभिजन छुट्याएको थियो, जसले गर्दा नाफामा नकारात्मक प्रभाव पारेको छ ।
बढ्यो निष्क्रिय कर्जा
बैंकको निष्क्रिय कर्जा असोज मसान्तसम्म ६.६३ प्रतिशत पुगेको छ, जुन गत आवको ५.८२ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो। यद्यपि, खुद निष्क्रिय कर्जा भने १.४६ प्रतिशत मात्र रहेको छ, जुन बैंकका लागि सकारात्मक संकेत हो।
बैंकले अहिले सम्म ४ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ र ३ खर्ब ३० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। पहिलो त्रैमासमा बैंकको निक्षेप २३ अर्ब रुपैयाँले वृद्धि भएको छ भने कर्जा ४ अर्ब रुपैयाँले विस्तार भएको छ।

