२०८३, आश्विन १९ गते

images

बागमती प्रदेशः चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशङ्का

बागमती प्रदेशः चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशङ्का

सोमवार, आषाढ ३ २०८१०१:५२
सोमवार, आषाढ ३ २०८१०१:५२
  • images

    काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोडभन्दा बढीको बजेट ल्याएको छ । 

    चालु आवकै हाराहारीमा बजेट ल्याउने अनुमान गरिरहेका बेला आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आव लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जबकी चालू आवका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो । 

    कूल विनियोजितमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ६३ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

    आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट छ अर्ब ५१ करोड १६ लाख ७९ हजार रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ, चालू आव २०८०÷८१ को अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार रुपैयाँ बेहोरिने अनुमान बजेटमा गरिएको छ । 

    प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि छ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताए । कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रूपमा अगाडि बढाउने घोषणासहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि दुई अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

    प्रदेशभित्र जग्गा भाडामा लिएर केराखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने, उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गर्ने, पशुस्रोत केन्द्र विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री थपलियाले जानकारी दिए ।

    उपेक्षित, उत्पीडित तथा अतिसिमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि तीन अर्ब ९१ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रुपैयाँ, वन तथा वातावरण मन्त्रालयका लागि तीन अर्ब २१ करोड रुपैयाँ, रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

    बजेटमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि १० करोड रुपैयाँ बजेट विनियोजना गरेको सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ७४ करोड रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ४४ करोड रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्रका लागि २४ करोड दुई लाख रुपैयाँ तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ५० करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

    प्रदेशका सामुदायिक विद्यालयमा सञ्चालित एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि चार अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले चालू आव २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । 

    जनताको भावना र रोजगारी सृजना गर्ने खालको बजेट आएनन् 

    प्रतिपक्षी दलका नेताहरुले भने प्रस्तुत बजेटले जनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसक्ने  टिप्पणी गरेका छन् ।

    बजेटपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बजेट मनगढन्ते र दिशाहीन भएकाले यसले जनताको चाहना र भावनालाई सम्बोधन गर्न नसक्ने बताए । बजेटले रोजगारी अभिवृद्धि र आर्थिक समृद्धिमा टेवा पु¥याउन नसक्ने दाबी गर्दै उनले घाटा बजेटले समस्या थप बल्झिन सक्ने खतरा रहेको बताए ।


    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुननसक्ने बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend