काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिबापत २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार पुस १६ गतेसम्म देशभरबाट कुल ३ हजार ३ सय १६ वटा बीमा दाबी दर्ता भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले हालसम्म पाँच अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरिसकेका छन्। सम्पत्ति बीमाअन्तर्गत ७ सय ७२ वटा दाबी परेका छन्, जसमा १९ अर्ब पाँच करोड ३० लाख रुपैयाँ बराबरको दाबी रकम रहेकामा तीन अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
मोटर बीमातर्फ तीन अर्ब ४६ करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेकामा एक अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ आठ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ एक करोड ४२ लाख रुपैयाँ र अन्य बीमातर्फ पाँच करोड ६१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ।
इन्स्योरेन्स कम्पनीमध्ये सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। कम्पनीमा देशभरबाट ४०९ वटा दाबी दर्ता भई पाँच अर्ब ५७ करोड ९० लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। कम्पनीले भुक्तानी तथा अग्रिम भुक्तानीसहित एक अर्ब ९१ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।
दोस्रो स्थानमा द ओरियण्टल इन्स्योरेन्स रहेको छ। कम्पनीमा १०१ वटा दाबीबापत पाँच अर्ब ४३ करोड ५१ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको भए पनि पुस १६ गतेसम्म ११ करोड पाँच लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ।
तेस्रो स्थानमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। कम्पनीमा २२० वटा दाबीबापत दुई अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। कम्पनीले हालसम्म एक अर्ब ११ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ।
शिखर इन्स्योरेन्समा ४४९ वटा दाबीबापत दुई अर्ब ३७ करोड ५० लाख रुपैयाँ बराबरको दाबी परेको छ, जसमा ७३ करोड १८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३७ करोड ३१ लाख, नेको इन्स्योरेन्सले २८ करोड ६२ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २७ करोड ७८ लाख र सानिमा जिआईसी इन्स्योरेन्सले १३ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सले आठ करोड ४० लाख, नेपाल इन्स्योरेन्सले १८ करोड २७ लाख, एनएलजी इन्स्योरेन्सले २३ करोड ८० लाख र प्रभु इन्स्योरेन्सले एक करोड आठ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्।

