काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि हातपात भएको छ । शनिबार बैंकको घोराही शाखामा कार्यरत कर्मचारी कर्जा असुलीको सिलसिलामा अराजक समूहको आक्रमणमा परेका हुन्। यसअघि कर्जा असुलीकै सिलसिलामा ज्योति विकास बैंकका कर्मचारी कुटिएका थिए ।
कामको सिलसिलामा कर्मचारीमाथि आक्रमण भएको भन्दै नेपाल ईन्भष्टमेण्ट मेगा बैँक कर्मचारी युनियनले एक विज्ञप्ती जारी गर्दै कारवाही गर्न आग्रह गरेको छ ।
कर्मचारी युनियनका अध्यक्ष शिबहरी भण्डारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस प्रकारका घटनाहरु बैंक तथा वित्तीय संस्थाका कर्मचारी प्रति बारम्बार दोहोरिदा तथा सामाजिक सञ्जालहरुमा विभिन्न व्यक्तीहरुद्धारा खुलमखुल्ल धम्कीपूर्ण अभिव्यक्तिहरु सार्वजनिक हुँदा समेत नियामक निकायको लज्जास्पद मौनता तथा कर्मकाण्डी वक्तव्य, आफ्नो असक्षमता लुकाउन कर्मचारीहरुमाथि अत्याधिक दवाव दिने सबै बैंक तथा व्यवस्थापनहरुको गैरजिम्मेवार प्रवृत्ति तथा कर्जा तिर्नुहुन्न भन्ने अपराधिक मानसिकता भएका व्यक्तिहरु तथा फौजदारी कृयाकलापहरुमा समेत राजनीतिकरणा गर्नका लागि उद्दत सरकारको आत्मसमपर्णबादी नितिको यस युनियनले घोर भत्साना गर्दछ ।’
अध्यक्ष भण्डारीले कानुन हतमा लिने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु माथि हिंसा तथा अपमान गर्ने तथा कानुनी शासन, वित्तीय अनुसासन र सम्य समाजमाथि प्रत्यक्ष आक्रमण गर्नै अपराधिहरुलाई पहिचान गरी ज्यानमार्ने उद्योगसम्मको अपराध गरेको भन्दै सोही सम्मको सजायको माग गरे ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक्लैले सर्वसाधारणको झण्डै ४.९७ खर्ब रुपैयाँ निक्षेप सुरक्षित राखी करिब ३.४ खर्ब कर्जा प्रवाहमार्फत देशको अर्थतन्त्र धानेको अवस्थामा कर्मचारीमाथि यसरी हिंसा हुनु अत्यन्त निन्दनीय रहेको युनियनको ठहर छ।
यदि राज्य, नियामक निकाय र सुरक्षा संयन्त्र अझै मौन बसिरहे सम्पूर्ण बैंक शाखा बन्द गरी राष्ट्र बैंक र अर्थ मन्त्रालयमा चाबी बुझाएर आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत युनियनले दिएको छ।

