काठमाडौँ । छिन्नमस्ता गाउँपालिकाले मुसहर बस्तीमा कम्बल वितरण गरेको छ । पालिकाको वडा नम्बर ५ लोखरामस्थित सदा ९मुसहर०बस्तीमा हैजाबाट प्रभावित करिब डेढ सय (१५०) मुसहर परिवारहरूलाई कठ्यांग्रिँदो जाडोमा न्यानोपनको अनुभूति दिलाउने उद्देश्यले न्यानो कम्बल वितरण गरेको हो ।
पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सो बस्तीमा कम्बल वितरण गरिएको भन्दै पालिका भित्रका अन्य बस्तीमा समेत वितरणको तयारी भएको बताए । उनले यसअघि नै सो बस्तीका प्रत्येक घरघरमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बायोस्यान्ड फिल्टर वितरण गरिसकिएको बताए ।
‘बस्तीको विभिन्न ठाउँमा नयाँ ट्युवेलहरू जडान गरेर दैनिकी जीवनलाई अलिकति सहज, सुरक्षित र सम्मानजनक बनाउने प्रयास पनि गरिएका छौँ’, उनले भने ।
उनका अनुसार यही पुस २६ गते नेपाली सेनाको सहकार्यमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको समेत तयारी गरिएको छ ।
‘समुदायको पीडा हाम्रो पीडा हो। सेवा केवल एउटा कार्यक्रम होइन, निरन्तर प्रतिबद्धता हो। यही भावना र जिम्मेवारीका साथ छिन्नमस्ता गाउँपालिका भित्र रहेका अन्य बस्तीहरूमा पनि यस्ता मानवीय सहयोग र स्वास्थ्य स्वच्छताका कार्यक्रमहरू निरन्तर रूपमा अघि बढाउँदै छौँ’, उनले भने ।

