काठमाडौँ । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको एटीआर विमानको छानबिन समिति नबन्दै हतार हतारमा दुर्घटनाग्रस्त जहाज निकालिएको छ ।
उडान सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने घटनामा प्रारम्भिक अनुसन्धान नै पूरा नभई जहाज सारिनु नियामक प्रक्रियाविपरीत भएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्।
काठमाडौँबाट ५१ जना यात्रु लिएर भद्रपुर गएको वुद्ध एयरले जहाज शुक्रबार राति ८ः२० तिर अवतरणको क्रममा रन–वेबाट चिप्लिएर दुर्घटना भएको थियो । शनिबारको प्रयास असफल भएपछि आइतबार उक्त जहाज रनवेबाट निकालेर पर सारिएकाे हो ।
अन्य उडानलाई असर गर्याे भनिएतापनि उक्त दुर्घटना लगतै क्यानका निमित्त महानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, मन्त्रालय, क्यान तथा बुद्ध एयरका प्राविधिकहरुको १६ जनाको जम्बो टोली सोही विमानस्थलमा अवतरण गरेका थिए ।
आईकाओको नियम अनुसार अनुसन्धान सुरु नहुँदासम्म दुर्घटनाग्रस्त जहाजलाई त्यहाँबाट हटाउन मिल्दैन । हवाई दुर्घटना वा गम्भीर घटनापछि जहाजलाई ‘जस्ताको तस्तै’ अवस्थामा सुरक्षित राखी प्राविधिक, मानव त्रुटि वा प्रणालीगत कमजोरीको अध्ययन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। तर जाँचबुझ समिति गठन हुनुअघि नै जहाज हटाइनुले प्रमाण नष्ट हुने, घटनाको वास्तविक कारण ढाकछोप हुने र निष्पक्ष अनुसन्धानमा असर पर्ने आशंका गरिएको छ। विगत लामो समयदेखि नेपाल ईयूको कालोसूचीमा रहेको बेलामा उक्त घटनाले समेत थप लम्बिने सम्भावना देखिएको उडड्यन विज्ञ बताउँछन् ।
यसअघि ठूलो मानविय क्षति भएको दुर्घटनामा क्यानले प्राविधिक टोली पठाउने गरेको थियो । तर, बुद्ध एयरको दुर्घटनामा क्यानका महानिर्देशक, टीआईएका हाकिम आफै जानुले यसका पछाडी केही छ भन्ने अनुमान गर्न सकिन्छ, एक हवाई विज्ञले भने, ‘उनीहरु आफै अवतरण गरेर अन्य जहाजलाई असर गर्याे भनेर हतार हतार उठाउनु गम्भीर लापरबाही हो ।’
आइतबार जहाज निकालेपछि सरकारले सोमबार छानबिन समिति गठन गरेको छ । पुस २१ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रुपमा नियुक्त गरेको हो ।
उक्त निर्णय अनुसार पुरीले कार्यभार सम्हालेर काम सुरु गरिसकेका छन् । उनी यसअघि भैरहवाको धावनमार्गमा यती एयरको जहाज दुर्घटनाको छानबिन समितिमा बसेर काम गरिसकेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा नियुक्त गर्दै मन्त्रालयस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार क्याप्टेन पुरीले आवश्यकताअनुसार विषयगत विज्ञहरू समेटी दुर्घटनाको अनुसन्धान गर्नेछन् । यसअघि मन्त्रालयले हवाई दुर्घटनमा क्याबिनेटबाटै ठूलो जम्बो टोली नियुक्त गर्ने गरेको थियो ।
छानबिन समितिले विमानका फ्लाइट डाटा रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) अध्ययन गर्ने, पाइलट तथा भद्रपुर विमानस्थलको टावरमा कार्यरत एयर ट्राफिक कन्ट्रोल कर्मचारीसँग बयान लिने लगायतका अनुसन्धान कार्य गर्नेछन् ।
छुट्टा छुट्टै छानबिन समिति
उक्त दुर्घटनाका लागि मन्त्रालय र नेपाल नागरिक उडडयन प्राधिकरण्(क्यान) ले छुट्टा छुट्टै छानबिन समिति गठन गरेका छन् ।
सेवाप्रदायक र नियामक दुवै भूमिकामा रहेको प्राधिकरणलाई हवाई घटना तथा दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको नागरिक उड्डयन नियमावली, २०५८ अनुसार कानुनी अधिकार छ ।
उक्त नियमावली अनुसार नागरिक उड्डयनसँग सम्बन्धित कुनै पनि घटना वा दुर्घटनाको प्रचलित कानुनबमोजिम हुने छानबिनका अतिरिक्त महानिर्देशकले आफैं पनि उक्त विषयमा छानबिन गर्न सक्ने नियमावलीमा व्यवस्था रहेको छ ।
अनुसन्धान समिति बनाउन मन्त्रालयको अनाकानी
उक्त दुर्घटनापछि मन्त्रालयले अनुसन्धान तथा छानबिनका लागि समिति गठन गर्न समेत वेवास्ता गरेको जस्तो भान भएको हवाई क्षेत्रका जानकारहरु बताउँछन् । यसअघिका दुर्घटनामा लगत्तै छानविन समिति गठन गरिएतापनि वुद्धको दुर्घटना भएको ४ दिनपछि मात्रै समिति बनाउनुुले थुप्रै शंका उत्पन्न भएको उनीहरुको बुझाई छ ।
दुर्घटना लगतै वुद्ध एयरले एक विज्ञप्ती जारी गर्दै दुर्घटनाको छानविनका लागि सबै सहयोग गर्ने घोषणा नै गरेको थियो भने दुर्घटनामा संलग्न क्याप्टेन र को–पाइलट दुवैलाई हाल उडान रोस्टरबाट हटाइ ग्राउन्डेड गरिएको छ ।
क्यान भन्छः अन्य उडानलाई असर गरेपछि जहाज निकालियो
नियामक निकायको रुपमा रहेको क्यानले भने अन्य उडानलाई असर गर्नेभएपछि जहाज निकालिएको जनाएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जहाज रनवेमै भएका कारण हटाउनु परेको बताए ।
‘जहाजको केही भाग रनवेमै थियो । क्यानको प्राविधिक टोलीले अनुसन्धान गरेपछि सो जहाजलाई दुर्घटनास्थलबाट हटाईएको हो’, उनले भने ।

