काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध हुनुहुन्थ्यो । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो ।
आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने । नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बन्नुभएको थियो गायक तामाङ । उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ ।
गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँगै जोडिएका थिए। नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताए । उनले ती दिन स्मरण गर्दै भने, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम ग¥यौँ । हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उहाँलाई जिताउन खर्च गर्न थाल्यौँ ।”
उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए ।
तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए । दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराएका थिए । “विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनु पर्छ भनेर मैले पहिलो पटक पाश्र्व गायनमा ल्याएँ । उहाँको सरलता देखेर म छक्क परेको थिएँ । विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भुत थियो । उहाँमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएँन”, निर्देशक श्रेष्ठले उहाँको स्मरण गर्दै भने ।
पछि तामाङ अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिए । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । त्यसपछि उहाँले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे। गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उहाँले अभिनय गर्नुभएको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो ।
अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायक भन्दा पनि अभिनेताको रुपमा अगाडि बढाए। ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा थिए ।
सोही क्रममा दिल्लीमा रहेका उनको निधन भयो । कोभिड १९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थालेका थिए । निर्माता घतानीका अनुसार उनी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गरेका थिए। श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनकै थियो ।
“आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्नुहुथ्यो । छोरीमा उहाँले आमाको प्रतिविम्व देख्ने गरेको बताउनुहुन्थ्यो”, निर्माता घतानीले भने ।
कोभिड १९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयम् कोभिडको बिरामी थिए । आफ्नो आमाको अन्त्येष्टीमा सहभागी हुन नपाएको पिडा उनको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाइ समय दिने उनको स्वभाव थियो । उहाँले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गर्नुभएको थियो । सन् २०२२ मा उनको छोरी जन्मिएको थियो ।
उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उनको पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् ।
नेपाली भाषाको गीत सङ्गीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल हुनुभएका तामाङलाई हरेक नेपालीले सधैँ सम्झिरहने छन् ।