काठमाडौं : टेलिभिजन शो ‘कमेडी दरबार’को पछिल्लो शृंखला प्रेस काउन्सिलको निर्देशनपछि सेन्सरसिपमा परेको छ। प्रतिनिधिसभाका सभामुख र केही महिला सांसदहरूलाई लक्षित गरिएको एक प्रहसनमा उजुरी परेपछि निर्माण पक्षले संवादमा 'बिप' (Beep) शब्द राखेर कार्यक्रम प्रसारण गरेको हो। यस घटनाले हास्यव्यंग्य क्षेत्रमा सिर्जनात्मक स्वतन्त्रता र यसको सीमाको विषयलाई लिएर नयाँ बहस सिर्जना गरेको छ।
प्रसारण संस्था ओएसआर रियालिटीमार्फत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको सिजन ३ को ९ औं एपिसोडमा यस्तो दृश्य देखिएको हो। उक्त एपिसोडको ३१ मिनेट २२ सेकेन्डबाट सुरु हुने प्रहसनमा कलाकारद्वय सरोज भण्डारी र सुजन जिम्बाले सभामुख र मर्यादापालकको भूमिका निर्वाह गरेका छन्। सो प्रस्तुतिमा ११ पटक ‘सभामुख’ भन्ने शब्दलाई 'बिप' ध्वनीमार्फत म्युट गरिएको छ। नेपाली हास्य टेलिश्रृंखलाहरू विवादमा तानिने गरे पनि, यसरी 'बिप' नै प्रयोग गरेर सेन्सर गरिएको यो सम्भवतः पहिलो घटना हो।
संसदमा बोल्ने समय सकिएपछि माइक काटिने प्रसंग र त्यसले निम्त्याउने अवस्थालाई व्यंग्य गर्दै उक्त प्रहसन तयार पारिएको थियो। कार्यक्रमको ट्रेलर सार्वजनिक भएलगत्तै अधिवक्ता खगेन्द्र चापागाईंले मर्यादामा आँच पुगेको भन्दै प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका थिए।
सोही उजुरीका आधारमा काउन्सिलले निर्देशक श्रद्धा प्रसाईं, प्राइम टिभी र ओएसआरलाई सम्पर्क गरी विवादित शब्द र दृश्य हटाउन निर्देशन दिएको थियो। काउन्सिलको निर्देशन पालना गर्दै निर्माण पक्षले भिडियो सम्पादन गरी प्रसारण गरेको हो।
यद्यपि, यस कदमले कलाकारहरूको सिर्जनात्मक भावनामा भने चोट पुर्याएको छ। कार्यक्रमका निर्णायक, निर्देशक र कलाकारहरूले यस घटनालाई लिएर सामाजिक सञ्जालमार्फत गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले यसलाई हास्यव्यंग्यको मर्म र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा अर्थ्याएका छन्।
यस्तो कार्य अभिव्यक्ति स्वतन्त्रतामाथिको सिधा हस्तक्षेप हो," कार्यक्रमकी निर्देशक श्रद्धा प्रसाईंले भनिन्, "यद्यपि, आइन्दा प्रसारण हुने शृंखलाहरूमा विषयवस्तु र प्रयोग हुने सामग्री (प्रप्स) मा हामी थप सजग हुनेछौं।
संसदभित्रको माइक काटिने प्रसंग पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेको थियो र यो विषयले स्वयं संसदमा समेत प्रवेश पाइसकेको थियो। राजनीतिक र समसामयिक विषयमाथि व्यंग्य गर्न पाउनु कलाकारको स्वतन्त्रता हो या संस्थागत गरिमाको रक्षा प्राथमिक हो भन्ने प्रश्न यो घटनाले उब्जाएको छ।

