काठमाडौँ । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनबाट उत्पन्न विवाद समाधानको दिशामा अगाडि बढेको छ।
पार्टीको विवाद मिलाउन संस्थापन र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मकरुपमा टुंगिएको हो।
छलफल सकरात्मक र सौहार्दपूर्ण भएको नेता रमेश लेखकको भनाइ छ। उनले भने, ‘छलफल सकारात्मक र सौहार्दपूर्ण भएको छ। पार्टी एकताबद्ध राख्न हामी सबै सहमत छौं,’ उनले भने।
मंगलबार बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका ८ जना नेताबीच संवाद भएको हो। छलफलमा सभापति शेरबहादुर देउवा पक्षीय नेता रमेश लेखक, बालकृष्ण खाण, नेता शेखर कोइराला पक्षीय सहमहामन्त्री जीवन परियार, नेता मीनेन्द्र रिजाल, महामन्त्रीद्वय पक्षीय नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
सोमबार दिनभर सभापति देउवाको निवास महाराजगञ्जमा भएको छलफलमा संस्थापन पक्षले एकताका लागि लचिलो हुने निष्कर्ष निकालेको थियो। यता विशेष महाधिवेशन पक्षले संस्थापन पक्षसँग छलफलका लागि चार सदस्यीय वार्ता टोली बनाएको थियो।

