काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेसको विधानको व्यवस्था अनुसार उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढ्नेछ। विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा निर्वाचनको तयारी गरिएको केसीले बताए।
कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यको लागि मतदान हुनेछ। आज मध्याह्न साढे १२ देखि साढे १ बजेसम्म मतदाता नामावली प्रकाशनको कार्यतालिका छ भने अन्तिम नामावली २ बजे प्रकाशन गरिनेछ।
निर्वाचन समितिका अनुसार साँझ ७ बजेसम्म दाबी विरोधमाथि छानबिन हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ८:४५ बजे हुनेछ । राति ९ बजेदेखि मतदानको समयतालिका निर्धारण गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएलगत्तै निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।
विशेष महाधिवेशनमा नेतृत्व चयनतिर अघि बढेपछि संस्थापन पक्षका नेताहरु पनि सक्रिय छलफलमा जुटेका छन् ।

