काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको विमानमा यात्रुले आपतकालिन ढोका खोलेपछि उडान प्रभावित भएको छ।
उडान नम्बर ८५२ (कल साइन ९ एन एएमडी) मा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालिन ढोका खोलेपछि विमानको उडान रोकिएको सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
उडान भर्नका लागि विमानको इन्जिन अन भइसकेको थियो। त्यही बेला आपतकालिन ढोका खोलेको पाइलटले देखेपछि उडान रोकिन पुग्यो। कुनै क्षति भएको छैन।
आपतकालिन ढोका खोलेका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हालसम्म यात्रुले आपतकालिन ढोका किन खोले भन्ने स्पष्ट कारण खुलेको छैन।

