काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री विश्वप्रकाश शर्मालाई औपचारिक जवाफ पठाएका छन्।
बुधबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालयमा संस्थापन पक्षका नेताहरूसँग छलफल गरेपछि खड्काले शर्मालाई जवाफ पठाएका हुन्। महामन्त्री शर्माले पठाएको आठ बुँदे प्रस्तावमध्ये पाँच बुँदा स्वीकार्य हुने र तीन बुँदा मान्न नसकिने स्पष्ट उल्लेख गरिएको छ।
खड्काले पठाएको जवाफमा सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तय गरेर जानुपर्ने तथा निर्वाचन केन्द्रित गतिविधिका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने मागहरू मान्न नसकिने जनाइएको छ।
महामन्त्री शर्माले आफ्ना प्रस्ताव ह्वाट्सएपमार्फत पठाएका थिए भने कार्यवाहक सभापति खड्काले पनि त्यही माध्यमबाट जवाफ दिएका हुन्।
खड्काले आठ मिनेटभित्र जवाफ दिन आग्रह गर्दै त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेर आवश्यक अन्य प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन्।

