काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो। बैठकले महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाललाई नियुक्त गरेको छ।
हिमालयन बैंकका अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि सिबिफिनको महासचिवको जिम्मेवारीमा थिए। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै उनी सिबिफिनको अध्यक्ष पदबाट स्वतः हटेपछि रिक्त रहेको पदमा श्रेष्ठ चयन भएका हुन्। सिबिफिनको विधानअनुसार अध्यक्ष बन्न बैंकको बहालवाला अध्यक्ष हुनुपर्ने व्यवस्था रहेको छ, जसअनुसार श्रेष्ठ अध्यक्षमा नियुक्त भएका छन्।
श्रेष्ठ अध्यक्षमा चयन भएसँगै सिबिफिनको महासचिव पदमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल नियुक्त भएका छन्। यस्तै, एनआईसी एशिया बैंकबाट तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई चयन गरिएको छ।
सिबिफिनको विधानअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षजस्ता पदका लागि बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने व्यवस्था छ। अध्यक्ष पद वाणिज्य बैंकका अध्यक्षहरूमध्येबाटै चयन गरिने प्रावधान अनुसार यसपटक पनि वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरूकै बीचबाट नयाँ नेतृत्व चयन गरिएको हो।

