२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • निर्माण व्यवसायीका अध्यक्ष सिंहदेखि पाँचतारे होटलका...

निर्माण व्यवसायीका अध्यक्ष सिंहदेखि पाँचतारे होटलका साहुले तिरेनन् सरकारी ऋण, यी हुन ५२ ऋणी

निर्माण व्यवसायीका अध्यक्ष सिंहदेखि पाँचतारे होटलका साहुले तिरेनन् सरकारी ऋण, यी हुन ५२ ऋणी

आइतवार, माघ ११ २०८२१०:३८
आइतवार, माघ ११ २०८२१०:३८
  • images

    काठमाडौँ । सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो ।

    उक्त सूचीमा नेपाल निर्माण व्यवसायी महासंका अध्यक्ष तथा निर्माण व्यवसायी रवि सिंहको महादेव खिम्ती निर्माण सेवाको समेत नाम उल्लेख रहेको पाइएको छ । यस्तै, निर्माण व्यवसायीहरू खुम्बु कन्स्ट्रक्सन, लोकप्रिय निर्माण सेवा, एम.एम. कन्स्ट्रक्सन कम्पनी लगायतका दर्जनौं निर्माण कम्पनीहरू सूचीमा छन् । 

    यसैगरी अमेरिकाको टेक्सना रिसोर्सेस कम्पनी, युएईको एमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप र बीबीबी च्याम्पियन्स आयल कम्पनी जस्ता विदेशी कम्पनीहरूले पनि सरकारी रकम नबुझाएको देखिएको छ ।

    सशस्त्र प्रहरी बलका मनोज थापा, फुलबारी रिसोर्टका पियुष अमात्य लगायत विभिन्न जिल्लाका व्यवसायी तथा सरकारी सेवामा संलग्न रहेका व्यक्तिहरूको नाम समेत सूचीमा समावेश छ ।

    यसअघि पटक–पटक पत्राचार गर्दा र कार्यालयको वेबसाइटमार्फत जानकारी गराउँदा पनि बक्यौता बुझाउन नआएपछि सरकारले अन्तिम पटकका लागि यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र साँवा र नियमअनुसार लाग्ने ब्याजसहित सम्पूर्ण रकम चुक्ता गर्न कार्यालयले ताकेता गरेको छ ।

    निर्धारित ३५ दिनको अवधिभित्र पनि रकम राफसाफ नगरेमा प्रचलित कानुनबमोजिम यी व्यक्तिहरूको चलअचल सम्पत्तिबाट सरकारी बाँकी असुल उपर गरिने सूचनामा उल्लेख छ । यस प्रक्रियामा ऋणीहरूको जायजेथा दाबी गरी सरकारी रकम असुल गर्दा उनीहरूलाई हुन सक्ने आर्थिक वा सामाजिक हानिनोक्सानीप्रति कार्यालय जिम्मेवार नहुने समेत स्पष्ट पारिएको छ ।

    kumari-chowk-1418x2048.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend