काठमाडौँ । नेपाली बजारमा रेकर्ड ब्रेक बनाएको सुनको मूल्य घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सुनको मूल्य घट्न थालेको हो ।
तथ्यांक आइतबार छापावाल सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
महासंघले उक्त तथ्यांक अनुसार शुक्रबार र आइतबार गरी २ दिनमा सुनको मूल्य प्रतितोला ३९ हजार ३ सय रुपैयाँले घटेको हो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ७ हजार ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ७१६ रुपैयाँमा कारोबार भईरहेको छ ।

