२०८३, आश्विन १९ गते

images

जुम्लाका आठै स्थानीय तहले ल्याए बजेटः रैथाने बाली संरक्षणदेखि रोजगारीसम्म प्राथमिकतामा

जुम्लाका आठै स्थानीय तहले ल्याए बजेटः रैथाने बाली संरक्षणदेखि रोजगारीसम्म प्राथमिकतामा

सीएनएन खबर
मंगलवार, आषाढ ११ २०८१०७:२७
सीएनएन खबर
मंगलवार, आषाढ ११ २०८१०७:२७
  • images

    काठमाडौँ । जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएका छन् । ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन् ।

    जिल्लाको तिला गाउँपालिकाले आगामी आवका लागि ४७ करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक गोरीकला बुढाका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम  र बजेट ल्याइएको छ । 

    सुलभ स्वास्थ्य सेवा विस्तार गर्न १० शय्याको अस्पताल निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले जानकारी दिईन । 

    सिंजा गाउँपालिकाले ४१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँट तथा सङ्घ र प्रदेशबाट प्राप्त अनुदानलाई आधार बनाएर बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी बताए । 

    तातोपानी गाउँपालिकाले ४९ करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गुठीचौर गापाले ४१ करोड १० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । हिमा गापाले ४९ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ । कनकासुन्दरी गापाले ५१ करोड दुई लाख र पातारासी गापाले ४४ करोड ४९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिईन । 

    जिल्लाको एक मात्र नगरपालिका चन्दननाथले ६७ करोड १० लाखको बजेट प्रस्तुत गरेको नगरउपप्रमुख रामदेवी खड्काले जानकारी दिईन । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

    कम्तीमा एकपटक पालिकास्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । 

    पालिकाले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।  सीपमूलक र व्यावहारिक शिक्षासहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनउपयोगी शिक्षा, एक वडा एक खेलकुद मैदान निर्माण, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरुको सक्रिय सहभागितालगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । 

    गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकताका साथ योजना ल्याएको छ । सेवा प्रवाह जनताको घरदैलोमा पु–याउन एकीकृत घुम्ती सेवामार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा बिस्तार गर्ने योजना तिलाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend