काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड)ले प्राथमिक निष्कासन (आईपीओ) मार्फत पाउने आरक्षित सेयर बिक्रीमा लगाइएको ‘लकइन पिरियड’ हटाइने तयारी गरिएको छ।
नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर आपूर्ति अभावका कारण मूल्य अस्वाभाविक रूपमा बढेको निष्कर्ष निकाल्दै उक्त व्यवस्था परिवर्तन गर्न लागेको हो। बोर्डका अनुसार बजारमा तरलता र आपूर्ति सन्तुलन कायम गर्न ‘लकइन पिरियड’ हटाउने निर्णय प्रक्रिया अघि बढाइएको हो।
यसअघि, २०८० कात्तिकदेखि लागू गरिएको व्यवस्थाअनुसार म्युचुअल फन्डहरूले आईपीओबाट प्राप्त सेयर कम्तीमा ६ महिना होल्ड गर्नुपर्ने बाध्यता थियो। सो व्यवस्थापछि फन्डहरूले तुरुन्तै सेयर बिक्री गर्न नपाउने भएकाले बजारमा आपूर्ति घटेको गुनासो लगानीकर्ताबाट आइरहेको थियो।
धितोपत्र बोर्डले प्राप्त उजुरी र बजार अवस्थाको अध्ययनपछि पुनः नीतिगत समीक्षा गर्दै ‘लकइन पिरियड’ हटाउने तयारी गरेको जनाएको छ।
विशेषज्ञहरूका अनुसार यो कदमले बजारमा सेयरको आपूर्ति बढ्ने र मूल्य स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, केही लगानीकर्ताले भने यसले छोटो अवधिमा बजारमा थप दबाब सिर्जना गर्न सक्ने आशंका व्यक्त गरेका छन्।
बोर्डको अन्तिम निर्णयपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।

