काठमाडौं । नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन कार्य सफलताका साथ सम्पन्न भएको छ। निर्देशक ऋत बोहोराका अनुसार काठमाडौं आसपासका विभिन्न स्थानहरूमा लगातार ३५ दिन लगाएर फिल्मको पहिलो सेड्युल पूरा गरिएको हो।
निर्देशक बोहोराले फिल्मको मुख्य भाग खिचिसकिएको जानकारी दिँदै अब केही ग्रामीण क्षेत्रका दृश्य र गीतहरूको छायाङ्कन मात्र बाँकी रहेको बताएका छन्। उक्त बाँकी कामलाई दोस्रो चरणमा केही दिनभित्रै सम्पन्न गर्ने निर्माण पक्षको तयारी छ।
सस्पेन्स क्राइम थ्रिलर जनारमा निर्माण भइरहेको यस फिल्ममार्फत पहिलो पटक एक्सन स्टार निखिल उप्रेती र नायिका वर्षा सिवाकोटीले स्क्रिन शेयर गरेका हुन्। टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा र निर्देशन स्वयं ऋत बोहोराले गरेका हुन् भने यसलाई धिरज कुमार अग्रवालले निर्माण गरेका हुन्। लामो समयपछि निखिललाई सस्पेन्स थ्रिलर कथामा देख्न पाइने भएपछि यस फिल्मलाई लिएर दर्शकमाझ निकै उत्सुकता देखिएको छ।

