काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंक ले आज ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने निर्णय गरेको छ।
यसका लागि राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलन प्रक्रिया सञ्चालन गर्दै आज दिउँसो ३ बजे बोलकबोलको समय निर्धारण गरेको छ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि प्रस्ताव पेश गर्न सक्नेछन् भने रकम पाँच करोडले भाग लाग्ने गरी कुल आह्वान रकमको सीमाभित्र हुनुपर्नेछ।
बोलकबोलमा सहभागी हुँदा संस्थाहरूले आफूले जम्मा गर्न चाहेको रकमसँगै ब्याजदर ९दशमलवपछि चार अंकसम्म० उल्लेख गर्नुपर्नेछ। यस निक्षेपको सावाँ र ब्याज भुक्तानी बैशाख २ गते गर्ने तय गरिएको छ, र ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलकै आधारमा निर्धारण हुनेछ।
राष्ट्र बैंकका अनुसार यो प्रक्रिया पूर्ण रूपमा ब्याजदरमा आधारित हुनेछ, र एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन्। यस निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

