काठमाडौं । बेल्जियममा आयोजना हुने इयू टी–२० क्रिकेट प्रतियोगितामा नेपालका ८ जना खेलाडी सहभागी हुने भएका छन्। विदेशी फ्रेन्चाइज लिगमा एकैपटक यति ठूलो संख्यामा नेपाली खेलाडी सहभागी हुन लागेको यो पहिलो अवसर हो।
मंगलबार राति ब्रसेल्समा सम्पन्न खेलाडी छनोट प्रक्रियाबाट ६ जना नेपाली खेलाडी विभिन्न टोलीमा आबद्ध भएका हुन् भने यसअघि नै २ खेलाडी टोलीमा समावेश भइसकेका थिए।
यसअघि सन्दीप लामिछाने लिएज रेड लायन्स र दीपेन्द्रसिंह ऐरी जेबी ब्रुज टोलीमा आबद्ध भइसकेका थिए। छनोट प्रक्रियाबाट कप्तान रोहितकुमार पौडेल ग्लेन्ट ग्लाडियटर्समा पुगेका छन् भने विकेटकिपर ब्याटर आसिफ शेख आन्थ्रोप एंकर्समा आबद्ध भएका छन्।
जेबी ब्रुजले थप चार नेपाली खेलाडी—अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डेलाई टोलीमा समेटेको छ।
इयू टी–२० प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ। बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा ५ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
कुन टोलीमा को ?
आन्थ्रोप एंकर्स – आसिफ शेख
ग्लेन्ट ग्लाडियटर्स – रोहितकुमार पौडेल
जेबी ब्रुज – दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी, ईशान पाण्डे
लिएज रेड लायन्स – सन्दीप लामिछाने
इंग्ल्यान्डका पूर्व कप्तान इयोन मोर्गन प्रतियोगिताका विश्वव्यापी प्रवर्द्धकका रूपमा रहेका छन्। उनले खेलाडी छनोट कार्यक्रममा समेत उपस्थिति जनाएका थिए। नेपाली क्रिकेटका लागि यो ऐतिहासिक अवसर मानिएको छ। अन्तर्राष्ट्रिय स्तरमा एकैपटक ८ खेलाडीको सहभागिताले नेपाली क्रिकेटको बढ्दो प्रभाव झल्काएको छ।

