काठमाडौं । जेन–जी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएकोप्रति गायक शिव परियारले आपत्ति जनाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै परियारले गौरीबहादुर कार्की आयोग को प्रतिवेदनमा आफूलाई ‘भ्रामक प्रचार गर्ने व्यक्ति’ का रूपमा उल्लेख गरिएको विषय वास्तविकतामा आधारित नरहेको दाबी गरेका हुन्।
उनले आन्दोलनको क्रममा सामाजिक सञ्जालमा फैलिएको हल्लाबारे सत्यता बुझ्नका लागि मात्र आफूले जिज्ञासा राखेको स्पष्ट पारे। “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य होरु” भन्ने आशयको पोस्ट आफूले प्रश्नका रूपमा राखेको र पछि गलत भएको थाहा पाएपछि तुरुन्त हटाएको उनको भनाइ छ।
परियारका अनुसार आफ्नो पोस्ट कुनै दाबी वा भ्रम फैलाउने उद्देश्यले नभई सत्य तथ्य बुझ्ने प्रयोजनका लागि गरिएको थियो। तर केही सञ्चारमाध्यमले विषयलाई बङ्ग्याएर प्रस्तुत गरेको र त्यसैको आधारमा आयोगले आफूलाई दोषी ठहर गरेको आरोप उनले लगाए।
यस घटनाले आफ्नो प्रतिष्ठा र कलाकारका रूपमा रहेको सामाजिक छविमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै उनले सरकारसँग उक्त प्रतिवेदनको निष्कर्ष पुनर्मूल्याङ्कन गर्न माग गरेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, “भ्रामक सूचनाका आधारमा गरिएको निष्कर्ष पुनर्विचार गरी ममाथि भएको अन्यायको पुनर्मूल्याङ्कन गरियोस्।” परियारले आफू एक जिम्मेवार नागरिक र कलाकार भएको नाताले सधैं सत्यको पक्षमा रहेको र राज्यलाई आवश्यक परेको अवस्थामा सहयोग गर्न तयार रहेको समेत बताएका छन्।

