काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ ।
यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन् ।
मन्त्री रावलले भनिन्, जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।
मन्त्रालयले यस अघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मङ्गलवार कर्मचारी पठाएको छ ।
अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

