काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म सामाजिक उत्तरदायित्व (सीएसआर) मा उल्लेख्य लगानी गरेको पाइएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ८५ लाख ५७ हजार रुपैयाँ विभिन्न सामाजिक क्षेत्रमा खर्च गरेको हो ।
बैंकको कुल सीएसआर कोषमा ११ करोड ८ हजार ३ सय रुपैयाँ रहेको छ । जसमा अघिल्लो आर्थिक वर्षबाट बाँकी रहेको रकम र चालु वर्षको नाफाबाट छुट्याइएको रकम समावेश गरिएको उल्लेख छ । यसमध्ये दोस्रो त्रैमाससम्म खर्च भएको रकम तुलनात्मक रूपमा कम भए पनि आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरी बाँकी रकम उपयोग गर्ने तयारी बैंकले जनाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गरिएको छ । बैंकले शिक्षा क्षेत्रमा ५३ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ, जसमा विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण, छात्रवृत्ति, कम्प्युटर, प्रिन्टर, विद्यालय पोशाक, जुत्ता, झोला तथा पूर्वाधार सुधारका कार्यक्रमहरू समावेश छन् ।
स्वास्थ्य क्षेत्रमा १५ लाख १६ हजार रुपैयाँ खर्च गरिएको छ । यस अन्तर्गत अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उपकरण सहयोग, स्वास्थ्य शिविर सञ्चालन, पानी शुद्धीकरण प्रणाली, अटो क्लेभ मेसिन, अक्सिजन सिलिन्डर लगायत सामग्री वितरण गरिएको छ ।
त्यस्तै, मानवीय सहायता तथा राहत क्षेत्रमा ८ लाख ५ हजार रुपैयाँ खर्च गरिएको छ, जसमा विपद् प्रभावित परिवारलाई खाद्यान्न, कपडा, ओढ्ने बिछ्याउने सामग्री तथा घर पुनर्निर्माणमा सहयोग गरिएको छ ।
वातावरण संरक्षण क्षेत्रमा करिब १ लाख ९९ हजार रुपैयाँ खर्च गरिएको छ भने अन्य क्षेत्रमा ७ लाख २२ हजार रुपैयाँ खर्च गरिएको छ । अन्य शीर्षक अन्तर्गत विभिन्न सीपमूलक तालिमहरू—जस्तै मौरी पालन, तरकारी खेती, माछापालन, कुखुरा पालन, अचार तथा अगरबत्ती निर्माण तालिम—सञ्चालन गरिएको छ ।
प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी २४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा १६ लाख ६५ हजार, कोशी प्रदेशमा १८ लाख ६६ हजार, गण्डकी प्रदेशमा ८ लाख ५९ हजार, कर्णाली प्रदेशमा ५ लाख ३२ हजार, मधेश प्रदेशमा ५ लाख ६७ हजार र बागमती प्रदेशमा ६ लाख १८ हजार रुपैयाँ खर्च गरिएको छ ।
बैंकले विभिन्न जिल्लाहरूमा विद्यालय सुधार, शैक्षिक सामग्री वितरण, छात्रवृत्ति कार्यक्रम, स्वास्थ्य उपकरण सहयोग, सुरक्षित खानेपानीका लागि ट्यांकी तथा फिल्टर जडान, सरसफाइ सामग्री वितरण, वृद्धाश्रम तथा अनाथालय सहयोग, र विपद् प्रभावित क्षेत्रमा राहत वितरण जस्ता कार्यक्रम सञ्चालन गरेको छ ।
यसका साथै ग्रामीण समुदायको जीविकोपार्जन सुधारका लागि विभिन्न व्यावसायिक तथा उद्यमशीलता विकास तालिमहरू सञ्चालन गरिएको छ । यसले स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आयआर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ऋक्च् कार्यक्रमहरू विशेषगरी ग्रामीण तथा पिछडिएका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको छ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा केन्द्रित कार्यक्रममार्फत दीगो विकासमा योगदान पु¥याउने उद्देश्य राखिएको छ ।

