काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट साढे १८ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार डिजिटल ट्रान्सफरमेसन परियोजनाका लागि एडीबीबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गरिनेछ।
यस्तै, दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए।
सरकारले डिजिटल पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा वित्तीय पहुँच विस्तारका लागि उक्त ऋण उपयोग गर्ने लक्ष्य लिएको जनाएको छ।

