काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाली चलचित्रहरूले देशको ‘मुड’ बोल्नुपर्ने बताएका छन्।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौं संस्करणअन्तर्गत चौथो दिन आयोजित ‘नेपाल थ्रु भिज्युल्स’ शीर्षकको सत्रमा बोल्दै उनले नेपाल प्रवर्द्धनका लागि केवल सुन्दर दृश्यहरू पर्याप्त नहुने बताएका हुन्। उनका अनुसार दृश्यसँगै कथा र भावनात्मक गहिराइ जोडिनु आवश्यक छ।
“हामीले प्रस्तुत गर्ने दृश्यले देशको मुड बोल्नुपर्छ,” उनले भने, “त्यो मुड कहिले शान्त, कहिले रहस्यमय, त कहिले संघर्षपूर्ण पनि हुन सक्छ।”
थपलियाले आजको डिजिटल युगमा छोटो भिडियोमार्फत नै देशको गहिरो कथा प्रस्तुत गर्न सकिने उल्लेख गरे। “दुई मिनेटभन्दा छोटो भिडियोमै पनि एउटा देशको कथा भन्न सकिन्छ। हामीले सिनेम्याटिक लेन्सबाट नेपाललाई देखाउनुपर्छ,” उनले भने।
उनका अनुसार प्रत्येक लेन्सले फरक कथा बोकेको हुन्छ र त्यसलाई सही रूपमा प्रस्तुत गर्नु चुनौतीका साथै अवसर पनि हो।
नेपाललाई ‘डिभाइन ल्यान्ड’ को रूपमा व्याख्या गर्दै उनले तराईदेखि हिमालसम्मको भौगोलिक विविधता एकै देशमा हुनु ठूलो सम्पदा भएको बताए। तर, उनले यी दृश्यहरू केवल सौन्दर्य प्रदर्शनमा सीमित हुन नहुनेमा जोड दिए।
“दृश्यहरू कथासँग जोडिएनन् भने तिनको अर्थ हुँदैन,” उनले स्पष्ट पारे।
नेपाली सिनेमाले अब केवल सकारात्मक पक्ष मात्र होइन, यथार्थ र चुनौतीहरू पनि देखाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
“अन्धकार बिना सिनेमा सम्भव छैन। त्यसैले नेपालको उज्यालोसँगै अँध्यारो पक्षको कथा पनि भन्नुपर्छ,” उनले भने।
थपलियाले कृत्रिम बुद्धिमत्ता (AI) बाट तयार गरिएका तस्बिर र दृश्यहरूलाई पर्यटन र सिनेमा क्षेत्रमा प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने बताएका छन्। उनका अनुसार यस्ता दृश्यहरूले यथार्थलाई विकृत बनाउन सक्छन्।
नेपाललाई ‘पोस्टकार्ड डेस्टिनेशन’ बाट ‘स्टोरीटेलिङ डेस्टिनेशन’ मा रूपान्तरण गर्न चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

