काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले २ महिनाको अवधिमा झन्डै ८ अर्ब रुपैयाँ व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको (साउन र भदौ) तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीले ७ अर्ब ७४ करोड ६७ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणको तथ्यांकअनुसार सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने व्यापार वृद्धिदरको हिसाबले नेपाल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।
जसअनुसार चालु आर्थिक वर्षको भदौसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्ष भदौभन्दा १०.६६ प्रतिशतले बढी हो । गत वर्ष भदौमा सगरमाथा लुम्बिनीले ९१ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
दोस्रो धेरै व्यापार गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ८१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष भदौमा सिद्धार्थ प्रिमियर ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको भदौमा यस कम्पनीको बीमाशुल्क आर्जन १०.७८ प्रतिशतले बढेको छ ।
सर्वाधिक व्यापार गर्ने तेस्रो कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । गत वर्ष भदौको तुलनामा यो कम्पनीको कुल बीमाशुल्क आर्जन ९.२१ प्रतिशत बढेको छ ।
गत वर्ष भदौको तुलनामा यो वर्ष भदौमा दुईवटा निर्जीवन बीमक हिमालयन एभरेष्ट र प्रभु इन्स्योरेन्सको व्यापार घटेको छ ।
हिमालयन एभरेष्टको व्यापार भने गत वर्ष भदौको तुलनामा ६.१९ प्रतिशत घटेको छ। यद्यपि, व्यापारको हिसाबले हिमालयन एभरेष्ट चौथो स्थानमा रहेको छ । गत वर्ष भदौमा ६४ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा यो वर्ष घटेर ६० करोड २३ लाख रुपैयाँ भएको छ ।
गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमकहरुको व्यापार ९.३४ प्रतिशतले बढेको छ । गत वर्ष भदौमा निर्जीवन बीमकहरुले ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष १२ वटा बीमकको व्यापार बढेको छ भने दुईवटाको घटेको छ ।

