काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो विवादप्रति गम्भीर चासो व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालीसेले सार्वजनिक गरेको धारणा अनुसार पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता विषयमा ढिलाइ वा प्रभाव स्वीकार्य नहुने उल्लेख गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको उल्लेख गर्दै पार्टीले आफ्नो प्रतिबद्धतामा दृढ रहेको जनाएको छ। “नैतिकता र स्वच्छताको राजनीति संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित छ,” वक्तव्यमा भनिएको छ।
पछिल्लो समय गृहमन्त्रीसँग जोडिएको प्रकरणले सार्वजनिक चासोसँगै राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको कांग्रेसको निष्कर्ष छ। यस्तो अवस्थामा सम्बन्धित पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका स्वाभाविक हुने उल्लेख गर्दै पार्टीले अनुसन्धानलाई पूर्ण रूपमा स्वतन्त्र र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
कांग्रेसले स्पष्ट रूपमा सरकारसमक्ष माग राख्दै गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको छानबिन तुरुन्त सुरु गर्नुपर्ने बताएको छ। ढिलासुस्ती, प्रभाव वा ढाकछोपको कुनै प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने चेतावनी पनि पार्टीले दिएको छ।
नेपाली कांग्रेस सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि सोही मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।

