२०८३, आश्विन १९ गते

images
  • विशेष
  • व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने शाही...

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने शाही नै बिचौलीया भट्टका साझेदार, पैसा नै नतिरी पाउँथे शेयर

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने शाही नै बिचौलीया भट्टका साझेदार, पैसा नै नतिरी पाउँथे शेयर

बुधवार, बैशाख ९ २०८३११:२६
बुधवार, बैशाख ९ २०८३११:२६
  • images

    काठमाडौँ । सरकारले व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिर्ने भनेर सम्मान गर्दै आएको व्यवसायी नै बिचौलीया दीपक भट्टको साझेदार रहेको पाइएको छ । 

    सरकारले सम्मान गर्दै आएको बहुराष्ट्रिय कम्पनी काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह नै बिचौलीया भट्टको साझेदार रहेको पाइएको हो । 

    नेपाल धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदनमा उनै व्यवसायी शाहले रकम नै भुक्तानी नगरी विभिन्न कम्पनीको शेयर लिने गरेको खुलासा भएको हो । 

    बोर्डको अध्ययनअनुसार शाहलाई दुई वर्षसम्म कैद सजाय हुने गरी सिफारिस गरिएको छ । शाह नेपालको मदिरा व्यवसायमा ठूला उद्योगीका रूपमा चिनिन्छन् । 

    १.JPG

    प्रतिवेदन अनुसार शाह हालै काल्सबर्गको नेपाल उत्पादक गोर्खा ब्रुअरीमा प्रवेश गरेका छन् । गोर्खा ब्रुअरीले राज ब्रुअरीलाई अधिग्रहण गरेपछि उनी काल्सबर्गसँग जोडिएका हुन् । सुरुवातमा उनको ८ प्रतिशत सेयर स्वामित्व रहेको र पछि १५ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको छ ।

    हाल उनी गोर्खा ब्रुअरीका सञ्चालक समितिका अध्यक्षसमेत रहेका छन् । शाह उधारो कारोबारमा समेत संलग्न रहेको पाइएको छ । 

    उक्त प्रतिवेदन अनुसार शाहले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ्ग प्रालिलाई ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा तिर्न बाँकी छ । उनले २०८२ साउन २१ गतेदेखि उक्त रकम भुक्तानी नगरेको देखिएको छ ।

    यस्तैगरी, शाहले उक्त रकम नतिरी निरन्तर उधारो कारोबार गरेको तथ्य भेटिएको छ ।

    2.JPG

    उनीले २०८२ असार २३ गतेदेखि साउन ४ गतेसम्म नेपाल रिइन्स्योरेन्स कम्पनीको १० लाख ५१ हजार २०४ कित्ता सेयर विभिन्न मूल्यमा कुल १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९३७ रुपैयाँ ९५ पैसामा खरिद गरेका थिए । जसमध्ये उनले ५२ करोड ५० लाख रुपैयाँ मात्र भृकुटी स्टक ब्रोकिङ्गलाई तिरेका छन् । बाँकी ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा अझै भुक्तानी हुन बाँकी रहेको छ ।

    शाहले धितोपत्र खरिद गर्दा अग्रिम रकम जम्मा नगरी कारोबारको सीमा प्राप्त गरेको, भुक्तानी नगरे पनि ब्रोकरमार्फत सेयर खातामा जम्मा गरिएको पाइएको छ । यसरी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद भएको देखिन्छ ।

    त्यसैगरी, शाहले हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार १११ कित्ता सेयर १६ करोड ५६ लाख ९२ हजार ९८२ रुपैयाँ ६० पैसामा खरिद गरेका छन् ।

    यस्तै उनले शुभी अग्रवालको नाममा रहेको ३ लाख ९ हजार ९३६ कित्ता सेयर ४० करोड ७३ लाख १३ हजार ८९८ रुपैयाँ ७० पैसामा खरिद गरेको देखिएको छ ।

    शाहले दीपक भट्टकै शैलीमा अग्रिम रकम नदिई कारोबार सीमा लिएर सेयर खरिद गरेको, पूर्ण भुक्तानी नगरे पनि सेयर आफ्नो खातामा प्राप्त गरेको देखिएको छ ।

    यसले सेयरको मूल्य वृद्धि गराउन सहयोग पुगेको तथा लगानीकर्ता र धितोपत्र बजारलाई भ्रममा पार्ने काम भएको निष्कर्ष निकालिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend