काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्रबार सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रियाका लागि विधेयकको मस्यौदा सार्वजनिक भएको बताइन् ।
‘मस्यौदामा आउने सुझाव एवं प्रतिक्रिया समेटेर विधेयक परिमार्जन गरी मन्त्रिपरिषदमा पेश गरिनेछ’ उनले भनिन्, ‘त्यसपछि विधेयकलाई संघीय संसद सचिवालयमा पेश गर्ने योजना छ
मन्त्रालयका अधिकारीहरूका अनुसार संघीय संरचनाअनुसार निजामती सेवा व्यवस्थापनलाई स्पष्ट, प्रभावकारी र समयसापेक्ष बनाउन नयाँ विधेयक ल्याउन लागिएको हो । मस्यौदामा कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, सेवा शर्त, अनुशासन तथा कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्ने प्रावधानहरू समेटिएको बताइएको छ ।
सरकारले यस विधेयकलाई प्रशासनिक सुधारको महत्वपूर्ण आधारका रूपमा अघि बढाएको उल्लेख गर्दै सरोकारवालाहरूलाई सक्रिय रूपमा सुझाव दिन आग्रह गरेको छ । मन्त्रालयले निश्चित समयसीमाभित्र प्राप्त सुझावहरूलाई अध्ययन गरी आवश्यक संशोधनसहित विधेयकलाई अन्तिम रूप दिने जनाएको छ ।

